२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

दशैं अघि नै सरकार परिवर्तन हुन्छः प्रमुख सचेतक कार्की

प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले दशैं अघि नै प्रदेश १ को सरकार परिवर्तन भइसक्ने दाबी गरेका छन्।  

मंगलबार विराटनगरमा पत्रकारहरूसँगको भेटमा कार्कीले यस्तो दाबी गरेका हुन्। कुन पार्टीको नेतृत्वमा सरकार बन्ने भन्ने विषय टुंगो लागिनसके पनि सरकार परिवर्तन हुने निश्चित भएको कार्कीले बताए। संसदमा अविश्वासको प्रस्ताव आउला भन्ने डरकै कारण एकाएक प्रदेश १ को बजेट अधिवेशन अन्त्य उनको भनाई छ। 

‘अविश्वासको प्रस्ताव आउला भन्ने डरले  संसदको अधिवेशन सरकारले अन्त्य गरेको हो’, कार्कीले भने, ‘शेरधन राई नेतृत्वको सरकार संसददेखि डरले जति भागेपनि सरकार परिवर्तन भएरै छाड्ने निश्चित छ,’ कार्कीले भने।  

उनका अनुसार सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेर केही दिन भए पनि सत्तामा रहने बाटो मात्रै खोजेको हो। केही दिन सत्तामा रहेर आफूले गरेका गलत कामहरूको फाइल मिलाउन सरकारले संसदको अधिवेशन अन्त्य गरेको कार्कीको दाबी छ। कार्कीले जब सरकार संकटमा पर्छ तब, सरकारले संसदको अधिवेशन अन्त्य गर्दै आएको बताए। 

विगतमा पनि सत्ता संकटमा परेपछि सरकारले नै संसद बहिस्कार गरेको उदाहरणसमेत प्रदेश १ मा रहेको छ। प्रदेश १ मा सरकारले नै प्रतिपक्ष जस्तो भूमिका निर्वाह गरेको उनको भनाई छ। प्रदेश १ को चालु आर्थिक वर्षको बजेटसमेत नैतिक रुपमा फेल भएको उनको दाबी छ। कार्कीले सत्ता पक्षकै सांसदहरूले बजेटको आलोचना गरेकाले प्राबिधिक रुपमा मात्रै बजेट पास भएको बताए। प्रदेश १ को सरकारले नैतिकता समेत गुमाएर सत्ता मोहमा लागेको कार्कीको आरोप छ।  

सरकारकै कारण प्रदेशको नामाकरण नभएको कार्कीले बताए। उनले प्रदेश १ का मुख्यन्त्री शेरधन राईले यहि अधिवेशनबाट नामाकरण गर्ने भनेर दलका नेताहरूलाईसमेत वार्ताका नाममा मकै भुटेजसरी हल्लाएको कार्कीले टिप्पणी गरे। 

‘यहि अधिवेशनबाट नामाकरण हुन्छ भन्ने मुख्यमन्त्रीको थेगो मात्रै हो’, कार्कीले भने,‘यहि अधिवेशनबाट नामाकरण हुन्छ भनेपछि पनि धेरै वटा अधिवेशन सम्पन्न भइसकेको छ।’ 

प्रतिपक्षी दलले जुनसुकै बेला प्रदेशको नामका विषयमा संसदमा छलफल गर्न तयार भएर प्रस्ताव ल्याउन आग्रह गर्दा पनि सरकारले प्रदेशको नामाकरणको प्रस्ताव संसदमा छलफलका लागि नल्याएको कार्कीले बताए।

प्रकाशित: १ भाद्र २०७८ १४:४३ मंगलबार

सरकार परिवर्तन