गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपदबाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज स्थलगत निरीक्षणपछि कार्यक्रममा मन्त्री खाँणले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भीर भएर लाग्न निर्देशन दिए।
मन्त्री खाँणले नागरिकको जीवनरक्षाका लागि विपद् जोखिम न्यूनीकरणको सवालमा प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापनलगायत मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
गृहमन्त्रीको पदभार ग्रहणपछि मातहतका निकायमध्ये प्राधिकरणलाई पहिलो प्राथमिकता दिँदै उनले आज यहाँ भ्रमण गरेका थिए। उनले प्राथमिकताको विषय भएकाले भ्रमण नै यहाँबाट सुरु गरिएको जानकारी दिँदै बजेट थप गर्न र भवनका लागि आवश्यक जग्गा व्यवस्थापनमा गम्भीर भएर लाग्ने आश्वासन दिएका छन्।
समारोहमा गृहसचिव महेश्वर न्यौपानेले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणबाट भएका काम, यसका चुनौती र आगामी कार्यदिशाबारे जानकारी गराएका थिए। उनले निजी आवास पुनःनिर्माणका विषयमा समेत जानकारी गराएका थिए।
प्रकाशित: १ श्रावण २०७८ १३:२४ शुक्रबार