१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा बजेटमाथि छलफल गरौं: गौतम

 नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा नहुँदा राष्ट्रियसभामै बजेट प्रस्तुत हुनुपर्ने बताएका छन्। आइतबार राष्ट्रियसभामा बोल्दै उनले ‘जनताको प्रतिनिधि हौं भने राष्ट्रियसभा र प्रतिनिधिसभा एउटै हो, यी दुईमा यति फरक छ कि यो निर्वाचक मण्डलबाट बन्छ र त्यो(प्रतिनिधिसभा) प्रत्यक्ष निर्वाचनबाट बन्छ।’ प्रतिनिधिसभा नभएको बेला राष्ट्रियसभामा बजेट प्रस्तुत गर्ने व्यवस्था गर्दा जनप्रतिनिधिमूलक संस्थाको सम्मान हुने पनि उनले बताए। यसका लागि के के संशोधन गर्नुपर्ने हुन्छ गरौं उनले भने। 

उनले अध्यादेशबाट ल्याएको बजेटभन्दा स्थायी सदन राष्ट्रियसभाबाट ल्याएको बजेटले राम्रो सन्देश जाने बताए। ‘त्यो बाहिर कोठाभित्र प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/८९ को बजेट वक्तव्य फेरि आएर अर्थमन्त्रीले यहाँ प्रस्तुत गर्नुस्, हामीले छलफल गर्न पाउँ र यहाँबाट पारित हुने व्यवस्था गरौं,’ गौतमले भने।

 ‘राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुपर्ने कुरा मैले राख्दा मेरो चरित्र हत्या गर्ने काम भएको छ,’ उनले भने। ‘पोहोर साल मैले एउटा विषय उठाएको थिएँ । मलाई अध्यक्ष केपी ओली कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नुभयो, मैले मानिनँ । त्यसो भए राष्ट्रियसभामा जानुस् भन्नुभयो,’ नेता गौतमले भने, ‘त्यसपछि मैले राष्ट्रियसभा र प्रतिनिधिसभाको बीचमा विभेद अन्त्य गरिदिनुस्, राष्ट्रिय राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरिदिनस् ,त्यो हटाइदिनु, त्यसका लागि संविधान संशोधन गर्नुस् भन्दा मेरो धेरै चरित्र हत्या भयो।’ तत्कालीन नेकपा हुँदा पार्टीभित्रको आन्तरिक विवादमा गौतमलाई प्रधानमन्त्री बनाउने चर्चा चलेको थियो। त्यसबेला राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था राख्ने विषयमा चर्चा भएको थियो।  

बैठकमा बोल्दै कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतक अनिता देवकोटाले सरकारले कानुनलाई लागु नगर्दा महिलाहरूले न्याय पाउन नसकेकोे बताइन्। उनले महिलामाथि बलत्कार र हत्याका घटना हुँदा पनि अनुसन्धान प्रभावकारी नभएको बताइन्। सुजिता भण्डारीको अनुसन्धान के भएको छ यसबारे सदनमा जानकारी गराउन उनले माग गरिन्। उनले भनिन्, ‘छोरीहरूले निर्धक्क भएर बाँच्न पाउने अवस्था कहिले आउने हो।’  

सांसद तारामान स्वाँरले दोस्रोपटक प्र्रतिनिधिसभा विघटन गरिनु प्रधानमन्त्री ओलीले आफ्नो महत्वकांक्षा पूरा गर्नका लागि चालेको कदम भएकाले यो स्वीकार्य नहुने बताए। प्रधानमन्त्रीको यस्तो कदमले मुलुकलाई निकाश नदिने भएकाले प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने उनले माग गरे।  

‘बारम्बार संविधानमाथि भइरहेका आक्रमण सामाजिक आर्थिक कुनै पनि कोणबाट हेर्दा वैधानिक छैन यो प्रतिगामी देखिएको छ।’ उनले भने । लोकतन्त्र र संविधानलाई आत्मसात गरेको भए पहिलो पटक विघटनलाई अवैधानिक भनेर खारेज गरेपछि प्रधानमन्त्रीले राजिनामा दिनुपर्दथ्यो, मार्ग प्रशस्त गरेर अर्को धारामा जाँदा राजिनामा दिनु पर्दथ्यो,  उनले भने ‘प्रधानमन्त्रीको कुर्सी जोगाउने दाउमा यस्तो भइरहेको छ।’  

सांसद प्रमिला कुमारीले आफ्नो पार्टीको अन्तरद्वन्द्व मिलाउ नसक्नेले अरुको समस्या समाधान गर्छन भन्ने भ्रममा नपर्न महन्थ ठाकुर समूहलाई आग्रह गरिन्। प्रधानमन्त्री ओलीका कुरा पत्याएर पछिलाग्नु मधेशलाई धोखा दिनु भएको उनले बताइन्। ‘हामी एकजुट भई जनतासमाजवादी पार्टीलाई एक जुट बनाउनु पर्दछ,’ उनले भनिन्।  

सांसद प्रकाश पन्तले खोप प्रकरणमा राष्ट्रपतिलाई किन प्रयोग गरियो भन्दै परराष्ट्रमन्त्रालयले यसबाट पन्छिन नमिल्ने उनले बताए। उनले भने, ‘राष्ट्रपतिको भूमिका टेष्ट गरिएको त होइन’ कोभिडसील पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन उनले माग गरे भने अपांगता भएका व्यक्तिको इम्युनिटी कमजोर हुन खोपको प्राथमिकतामा राख्नु पर्ने उनले बताए।

प्रकाशित: २८ असार २०७८ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App