२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ।

सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको संसदीय दलको कार्यालयले जनाएको छ। प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन्।

कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मङ्गलबार बसेको बैठकले प्रधानमन्त्री ओलीको विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो। संसदीय दलको बैठकमा पार्टीको सो निर्णयका सम्बधमा छलफल हुने र सभापति शेरबहादुर देउवाले पछिल्ला विभिन्न राजनीतिक दलका नेतासँग भएका भेटवार्ता बारेमा समेत जानकारी गराउनुहुने बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनको लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेका छन्।

प्रकाशित: २५ वैशाख २०७८ ०३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App