गृहमन्त्री पदमा रामबहादुर थापा 'बादल'ले आज शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा एमालेका नेता थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन्।
नेकपा एमाले संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ।
गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त भएका थिए। कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो।
प्रकाशित: ५ वैशाख २०७८ १२:२२ आइतबार