४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशसभा: राप्रपा सांसदलाई सधैं अपमान

कर्णाली प्रदेशसभामा राप्रपाको एक सीट छ । राप्रपाकातर्फबाट कालिकोटकी सोशीला शाही प्रदेशसभामा प्रतिनिधित्व गर्छिन् । प्रदेश सांसदका रुपमा यो तीन वर्षको अवधिमा उनले सभा र सरकारबाट सधैं अपहेलित हुनु परेको महशुस गरेकी छन् । शुक्रबार प्रदेशसभाको सातौं (हिउँदे) अधिवेशन सुरु भएको छ । दिउँसो दुई बजेका लागि तय गरिएको बैठकमा सहभागी हुन उनी साढे एक बजे प्रदेशसभामा प्रवेश गरिन् ।

‘प्रदेशसभाले म बस्ने कुर्सी पनि गायव पारेको रहेछ,’ नागरिकसँग कुरा गर्दै उनले भनिन्, ‘एक सीट मात्रै त्यसमा पनि महिला भएको भनेर होला सधैं अपहेलनमा मात्रै भोगिरहेकी छु ।’ प्रदेशसभा सुरु हुने बेलासम्म पनि कुर्सीको व्यवस्था नभएपछि उनी संसद भवनबाट बाहिरिने तरखरमा थिइन् । संसद सचिवालयका कर्मचारीको ‘आग्रह’पछि उनी कांग्रेस सांसद बसेको रोष्टमको पछाडि गएर बस्न राजी भइन् ।  

सुरुमा राप्रपालाई सरकार र संसद सचिवालयले दलको कार्यालय दिएको थिएन् । प्रदेशसभा सुरु भएको दुई वर्षपछि उनले दलको कार्यालय प्राप्त गरिन् । तर त्यसभित्र आवश्यक फर्निचर पनि अहिलेसम्म छैन् । सुरुसुरुमा उनलाई प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीसँगै प्रतिपक्षी दलको नेताका हैसियतमा राख्ने गरिएको थियो । कोरोना संक्रमण सुरु भएसँगै उनलाई अघाडीको रोष्टमबाट उठाएर पछाडि राखियो ।

‘सुरुमा प्रमुख प्रतिपक्षी र प्रतिपक्षीको कुर्सीको अघाडी सुचना टाँस गरेर राखिएको थियो,’ उनले भनिन्, ‘कोरोनाको बहाना बनाएर त्यो पनि हटाइयो ।’ उनले फेरि पनि यस्तै अपमान भएमा आफु दर्शकदीर्घामा गएर बस्ने चेतावनी दिइन् । ‘बोल्नेका कनिका बिक्छन् नबोल्नेको पिठो बिक्दैन् भन्छन्,’ उनले भनिन्, ‘अव पनि यस्तै अपमान भए दर्शकदीर्घामा बस्नेछु ।’

प्रकाशित: ३ वैशाख २०७८ १०:१४ शुक्रबार

प्रदेशसभा सचिवालय शोशीला शाही राप्रपा सांसद