४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिपक्षीद्वारा संसद्मा प्रधानमन्त्रीको आलोचना

प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद गगनकुमार थापाले सरकारले राम्रा काम र नराम्रा काम गरेको विषयमा संसद्मा बहस गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक देखाउँदै सांसद थापाले बाहिर–बाहिर भाषण गरेको कुरालाई प्रमाणित गर्न संसद्मा आएर बहस गर्न प्रधानमन्त्रीलाई आग्रह गरे। 

उनले तथ्यांकलाई मिथ्यांक बनाएर प्रस्तुत गर्दै मुलुकमा सरकारले राम्रा काम गरेको र समृद्धि भएको भन्ने भाषण गर्ने गरेको भन्दै थापाले तथ्यांकमा टेकेर संसद्मा बहस गर्न आउनुपर्ने बताए। ‘मैले यहाँ उभिएर कुनै कुण्ठा पोखेको छैन, यो नेपाल सरकारले लेखेको पुस्तक हो । यो पुस्तकमा टेकेर बहस गर्न तयार छु,’ उनले भने।  

थापाले प्रधानमन्त्रीलाई संसद् छलेर र संसद्बाट भागेर नजान आग्रह गरे  उनले पहिला आफूसँग आएर बहस गर्न र पछि उद्घाटन गर्न बाँकी रहेका पुल पुलेसा उद्दघाटन गर्न आग्रह गरे। थापाले विकास गर्ने प्रणाली परिवर्तन गर्नका लागि सरकार अग्रसर हुनुपर्ने र त्यसमा आफूहरूले सहयोग गर्न तयार रहेको बताए। सत्तारुढ नेकपा (एमाले) का सांसद खगराज अधिकारीले समितिमा शक्तिका आधारमा जिम्मेवारी दिनु पर्ने माग राखे। 

नेकपा विभाजन भएर एमाले भएपछि समितिमा एमालेको हैसियतअनुसारको व्यवस्था हुनुपर्ने उनले बताए। ‘जब हामी संसदीय समितिमा जान्छौं, नेकपा हुन बाध्य छौं। यस्तो परिस्थिति निर्माण हुनु र नेकपा भएर जानुपर्ने अवस्था संविधान, कानुन, दलसम्बन्धी व्यवस्थाविपरीत छ, प्रतिनधिसभा नियमावलीविपरीत छ,’ उनले भने। संसदीय व्यवस्थाअनुसार हामीले समितिको प्रतिनिधित्व विगतदेखि दलको शक्तिको आधारमा हामीले अनुपातमा गर्दै आएका छौं,’ उनले भने। उनले बिहीबारकै बैठकबाट आफूहरूलाई एमालेको शक्तिको आधारमा समितिमा राख्न र मुख्य सचेतक विशाल भट्टराईले दिएका नामअनुसार हेरफेर गरिदिन आग्रह गरेका थिए। सभामुख सापकोटाले संसदीय समितिमा हेरफेरका लागि कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर हुने जानकारी गराएका थिए।  

प्रकाशित: २७ चैत्र २०७७ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App