७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

४८ वर्षको मायाप्रीति एकै रातमा नटुट्ने : नेता नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको ४८ वर्ष लामो सम्बन्ध एकै रातमा नसिद्धिने बताएका छन् । आफू निकट युवा संघको भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा उनले ओली र आफूबीच लामो मायाप्रीति भएको भन्दै यस्तो बताएका हुन् ।  

नेता नेपालले आफूहरूले एकताको हात बढाउँदा पनि ओलीले पन्छाउन खोजेको बताए । उनले फागुन २८ गते ओलीले मनखुसी केन्द्रीय कमिटीबाट गराएका निर्णय स्वीकार गरी आफू लुरुलुरु बालुवाटार नजाने बताए । उनले आफूहरू अध्यक्ष ओलीसँगसँगै जाने पक्षमा रहेको तर उनी तयार नभएको आरोप लगाए । ‘केपी कमरेडलाई मेरो प्रस्ताव छ, नयाँ ढंगबाट जाऔं, एकताको बाटोमा अगाडि बढौं । त्यसका लागि २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किनुस् र यसबीचमा भएका बैठकका निर्णय अवैध भएकाले फिर्ता लिनुस् । त्यसो भयो भने केन्द्रीय कमिटीको बैठक नवौं हुनेछ र हाम्रो बैठक त्यहींबाट सुरु हुनेछ,’ नेपालले भने । नेपालले ओली फागुन २८ को अवैध निर्णय सच्याउन तयार नभएको पनि बताए ।

भेलालाई सम्बोधन गर्ने क्रममा नेता नेपालले २ जेठ २०७५ अघिको अवस्थामा फर्किए सबै कमिटीमा ओली अल्पमतमा पर्ने दाबीसमेत गरे । ‘केन्द्रीय कमिटीको नवौं बैठकमा बसौं भन्दा सबै कमिटीमा अल्पमतमा पर्ने भएपछि उहाँले विधानविपरीतका निर्णय गराउनुभयो’, नेपालले भने । नेपालका अनुसार १५ जना पार्टी पदाधिकारीमा पाँचजनामात्र ओलीतिर छन् । त्यस्तै नेपालले २२ सदस्यीय स्थायी कमिटीमा ओलीतिर १०, ४५ सदस्यीय पोलिटब्युरोमा ओलीतिर २० र केन्द्रीय कमिटीमा ९७ जना आफूतिर तथा ९० जना ओलीतिर भएको दाबी गरे । यसैकारण ओलीले विधान संशोधन गरेर आफू बहुमतका पुग्ने कोसिस गरेको दाबी नेपालको छ ।

प्रकाशित: ८ चैत्र २०७७ ००:५० आइतबार

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओली