१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नयाँ पार्टी खोल्दै हृदयेश त्रिपाठी

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन्। सरकारमा रहे पनि उनले आफूलाई स्वतन्त्र भन्ने गरेका छन्। स्रोतका अनुसार त्रिपाठीको समूहले अहिले सर्वोच्चको निर्णय कुरेर बसेको छ। सर्वोच्चले चुनावको पक्षमा निर्णय गर्‍यो भने तत्काल नयाँ पार्टीको घोषणा हुन्छ। पुनःस्थापना गर्‍यो भने केही समय लम्बिन सक्छ।  

त्रिपाठीको समूहमा एक प्रतिनिधिसभा सदस्य, दुईजना प्रदेशसभा सदस्य तथा ईश्वरदयाल मिश्र, पशुपतिदयाल मिश्रलगायत छन्। उनीहरूलाई समेटेर उनले पहिल्यै स्वतन्त्र राजनीतिक समूह गठन गरेका छन्। स्वतन्त्र राजनीतिक समूहको सम्पर्क कार्यालयसमेत खोलिएको छ। यसको कार्यालय बानेश्वर थापा गाउँमा राखिएको छ। त्रिपाठीलाई प्रतिनिधिसभा सदस्य ब्रिजेश गुप्ता तथा प्रदेशसभा सदस्य धर्म श्रीवास्तव र अजय शाहीले साथ दिएका छन्। यो समूहका नेताहरूले २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सूर्य चिह्न लिएर उम्मेदवारी दिएका थिए।  

ओली सरकारमा मन्त्री हुनुअघि त्रिपाठीले काठमाडौंमा स्वतन्त्र राजनीतिक समूहको भेला गरेका थिए। त्यसबेला उनले आफू पार्टी खोल्ने तयारीमा लागेको घोषणा गरेका थिए। नयाँ पार्टी खोल्ने या नेपाल कम्युनिस्ट पार्टीसँग आफ्नो समूहलाई एकीकरण गर्ने घोषणा त्यसबेला उनले गरेका थिए। भेला गरेको केही दिनपछि नै उनी ओली सरकारमा संघीय मामिलामन्त्री भए। मन्त्रिमण्डल पुनर्गठनपछि उनी स्वास्थ्यमन्त्री भएका हुन्।

त्रिपाठीको समूहमा रहेका सदस्यहरूले तत्काल नयाँ पार्टी खोल्ने तयारी भएको बताएका छन्। ब्रिजेश गुप्ताले नयाँ पार्टी खोल्न आन्तरिक तयारी भएको बताए। अर्का सदस्य अजय शाहीले त फागुनभित्रै नयाँ पार्टीको घोषणा हुने सम्भावना रहेको बताए। ‘सबै तयारी हुँदैछ। सम्भवतः फागुनभित्रै नयाँ पार्टीको घोषणा हुन्छ,’ शाहीले भने। शाहीका अनुसार अर्को हप्ता स्वतन्त्र राजनीति समूहको बैठक बस्नेछ र उक्त बैठकले नयाँ पार्टी घोषणा गर्न तिथि तय गर्नेछ। स्रोतका अनुसार पूर्वतराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ब्युँझाउने विकल्पमा पनि छलफल भएको छ। तत्कालीन तमलोपाका उनी सहअध्यक्ष थिए। यसका लागि तत्कालीन अध्यक्ष महन्थ ठाकुरसँग पनि एकदुई चरण कुराकानी भएको स्रोतको भनाइ छ। 

तर ठाकुरले यसमा सहमति जनाएका छैनन्। ठाकुर हाल जनता समाजवादी पार्टीको पहिलो अध्यक्ष भएका छन्। ‘पहिलो अध्यक्ष भएको व्यक्तिले भएको पार्टी छाडेर तमलोपा गठन गर्ने सम्भावना छैन,’ ठाकुरनिकट एक नेताले भने, ‘तर त्यस्तो कुरा आएको छ भन्ने मैले पनि सुनेको हुँ।’

प्रकाशित: ९ फाल्गुन २०७७ ००:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App