नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा परेको बताएका छन्। जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘सहिद स्मृति तथा सम्मान’ कार्यक्रममा अध्यक्ष प्रचण्डले हजारौं सहिदहरुले रगत बगाएर प्राप्त गरेको संविधान धरासायी पार्ने षडयन्त्र भइरहेको बताएका हुन्।
उनले सबै नेपाली एकजुट भएर फेरि संघर्षको मैदानमा उत्रिनुपर्ने आवश्यकता रहेकोमा जोड समेत दिए। ‘सात दशक लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा छ। हजारौं सहिदहरुले रगत बगाएर प्राप्त गरेको संविधान धरासायी पार्ने षडयन्त्र भइरहेको छ। त्यसकारण आज हामी सबै नेपालीहरु एकजुट भएर फेरि एकचोटी संघर्षको मैदानमा उत्रिएर संकल्प गर्ने दिन हो आज। म त्यो अपील सबैसँग गर्न चाहन्छु,’ प्रचण्डले भने।
उनले यसपटक सहिदहरुलाई सम्झिनुको विशेष अर्थ रहेको बताए। अरुबेला देशको राजनीति ठिकै ट्रयाकमा चलिरहेको भएपनि यसपटक जीवन मरणको प्रश्न भएको उनको भनाई छ। ‘ती महान सहिदहरु जसले बलिदान गरेर देशलाई यो ठाउँसम्म ल्याउन योगदान गरे, तिनीहरुका सपनाहरु कुल्चिने दुष्प्रयास भएको छ,’ उनले भने,‘हामी यसलाई सहन सक्दैनौं।’
आज २६ औं जनयुद्ध दिवस विशेषगरी पूर्व माओवादीहरुले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँदैछन्। तत्कालीन प्रचण्ड नेतृत्वको माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो।
प्रकाशित: १ फाल्गुन २०७७ ०६:२९ शनिबार