८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद् पुनःस्थापनापछि राष्ट्रपतिलाई घर पठाउँछौं : थापा

विराटनगरमा आयोजित विचार गोष्ठीमा गगन थापालगायतका कांग्रेसका नेताहरू । तस्बिर : चुमन बस्नेत/नागरिक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद् पुनःस्थापना भएपछि राष्ट्रपतिलाई घर पठाउने चेतावनी दिएका छन् । बिहीबार विराटनगरमा नेपाली कांग्रेस बिराटनगर समितिले अयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै थापाले संसद् पुनःस्थापाना भएपछि राष्ट्रपतिलाई घर पठाउने चेतावनी दिएका हुन् ।  

राष्ट्रपतिले प्रधानमन्त्रीले विपरित गरेका कामलाई सदर गरेर संविधानको संरक्षकको भूमिकासमेत निर्वाह गर्न नसकेको थापाले बताए । उनले संवैधानिक व्यवस्थाविपरीत प्रधानमन्त्रीले गरेका सिफारिसमा समेत राष्ट्रपतिले सामान्य छलफल नगरेको थापाको गुनासो छ । ‘विगतमा कांग्रेसको सरकारले गरेका सिफारिसलाई रोक्ने, फिर्ता पठाउने राष्ट्रपति यतिबेला रबरस्टाम्प बन्दै प्रधानमन्त्रीले जे सिफारिस गरेपनि एक मिनेट नपर्खी स्वीकृत गरिरहनुभएको छ,’ थापाले भने । थापाले पदको गरिमा नराख्ने शासकविरुद्ध बोल्ने अधिकार लोकतन्त्रमा हुने भएकाले राष्ट्रपतिविरुद्ध बोल्दैमा जेल जानुपर्ने भए आफूहरू पनि जेल जाना तयार रहेको बताए । ‘विगतमा राजाले गलत कदम चाल्दा राजाविरुद्ध बोल्न डराएनाैं,’ उनले भने, ‘अहिले राष्ट्रपतिविरुद्ध बोल्दा जेल जानुपर्छ भने हामी पनि जेल जान तयार छौं ।’ बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नभएको भन्दै थापाले प्रतिनिधिसभा विघटन संविधानविपरीत रहेको स्पष्ट पारे । 

थापाले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतले संविधानमा भएको व्यवस्थाअनुसार फैसला गर्नेमा आफूहरू ढुक्क रहेको बताए । उनले अदालतल सरकार र आन्दोलनकारीहरू कसैको दबाबमा नपरी निष्पक्ष फैसला गर्न आग्रह गरे । ‘कानुनको साँघुरो किल्लाभित्र न्यायको हत्या नहोस्,’ थापाले भने‘संविधानअनुसार अदालतबाट फैसाला हुनेमा हामी ढुक्क छौं ।’ लोकतन्त्रमा निर्वाचन आवश्यक भएकाले कांग्रेस कहिल्लै पनि चुनावबाट नभाग्ने थापाले बताए । ‘हामी निर्वाचनमा जान्छौं,’ थापाले भने, ‘तर, संसद् पुनःस्थापना गरेर मात्रै ।’ सनकको शिकार भएको संविधानलाई ठीक नगरी निर्वाचनमा गए सेटिङमा निर्वाचन हुने र सेटिङमा हुने निर्वाचनले राम्रो परिणाम नदिने स्पष्ट पारे ।  

नेता गुरुराज घिमिरेले सुविधाजनक बहुमत पाएर पनि सरकार चलाउन नसक्नेहरूले सडकमा जात्रा देखाइरहेको बताए । उनले प्रधानमन्त्रीले गरेको गल्ती सच्याउनै पर्ने स्पष्ट पारे । संविधानमा कतै पनि बहुमतप्राप्त प्रधानमन्त्रीले विघटन गर्ने व्यवस्था नरहेको बताए । केपी ओलीले गरेको नौटंकी सभाभन्दा ठूलो सभा उनकै साथीहरूले गरेको घिमिरेले बताए । उनले कांग्रेस सडकमा ओर्लिनै बाँकी रहेको भन्दै घिमिरेले कांग्रेस सडकमा ओर्लेपछि केपी ओली बालुवाटारबाट बाहिर निस्कनै नसक्ने स्पष्ट पारे । ‘हामी सडकमा निस्कनै बाँकी छ,’ उनले भने, ‘हामी सडकमा निस्केपछि ओली बालुवाटारबाट बाहिर निस्कनै सक्दैनन् । उनलाई श्वास फेर्न पनि गाह्रो हुने छ,’ घिमिरेले भने ।  

अर्का नेता प्रदीप पौडेलले तीन वर्षमा केपी सरकारले भ्रष्टाचारलाई संस्थागत गर्ने काम मात्रै गरेको बताए । राजासँग नडराएको कांग्रेस केपी ओलीसँग नडराउने स्पष्ट पारे । कार्यक्रममा संविधानविद् विपीन अधिकारीले संविधानले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटन गर्न पाउने अधिकार नै नदिएको स्पष्ट पारे । असंवैधानिक कदम सच्याउन संसद् पुनःस्थापना गर्नुपर्ने धारणा राखे । ‘संसद् विघटन असंवैधानिक कदम हो,’ उनले भने, ‘असंवैधानिक कदम सच्याउन संसद् पुनःस्थापना गर्नुपर्छ ।’

प्रकाशित: ३० माघ २०७७ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App