८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन

फागुन ३ मा हुने प्रदर्शनलाई व्यापक र प्रभावकारी बनाउन अपिल

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संगठनहरूको अगुवाइमा शनिबार काठमाडौंमा गरिएको प्रदर्शनका सहभागी । उनीहरुले टुँडीखेल वरिपरि लामबद्ध भएर मौन प्रदर्शन गरेका थिए ।तस्बिर : मोनिका मल्ल/नागरिक

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गरेको छ। कांग्रेसका शुभेच्छुक संगठनहरूको अगुवाइमा मौन जुलुससहित विरोध प्रदर्शन गरिएको हो।  

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई सदर गरी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन्। प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आएको छ। विघटनविरुद्ध कांग्रेसले निरन्तर प्रदर्शन गर्दै आएको छ। यसै शृंखलाअन्तर्गत कांग्रेसले शनिबार शुभेच्छुक संगठनहरूको अगुवाइमा प्रदर्शन गरेको हो।  

सबैजसो जिल्लामा प्रदर्शनकारीले विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार मुलुकमा राजनीतिक स्थायित्व दिन असफल भएकोजस्ता प्लेकार्ड बोकेका थिए। राजधानी काठमाडौंमा भने प्रदर्शनकारीले टुँडीखेल घेरेर मौन प्रदर्शन गरे। नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघसहितका शुभेच्छुक संस्थाहरूको आह्वानमा भएको प्रदर्शनमा सहभागीले ‘संवैधानिक सर्वोच्चता कायम गर, सर्वसत्तावाद मुर्दावाद, महामारीमा पनि भ्रष्टाचार, पेसाकर्मीलाई आहत, महामारीमा पनि पाइएन राहत’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। प्रदर्शनकारीले बेरोजगार बिमा लागु गर्नुपर्ने, सबै श्रमिकको स्थानीय तहमा पञ्जीकरण गर्नुपर्ने माग लेखिएका प्लेकार्ड पनि बोकेका थिए।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध पार्टीको आधिकारिक धारणा बनाउन पुस ७ गते सुरु केन्द्रीय समितिको बैठक माघ १३ सम्म चल्यो। बैठकको निर्णयअनुसार कांग्रेसले केन्द्र, प्रदेश र स्थानीय तहमा विरोध प्रदर्शन गर्दै आएको छ। पार्टीको अगुवाइमा पुस १३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र, पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते पालिका र माघ ८ गते वडाहरूमा विघटनविरुद्ध प्रदर्शन गरिएको थियो। कांग्रेसले शनिबारको प्रदर्शन सफल भएको जनाएको छ।

कांग्रेसले अब फागुन ३ गते जिल्ला कार्यसमितिको अगुवाइमा विरोध प्रदर्शन गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले फागुन ३ गतेको विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन अपिल गरेका छन्। देउवाले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पूर्वघोषणाअनुसार फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरूद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन सबैमा अपिल गर्छु।’

पार्टीका शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा शनिबार गरेको विरोध प्रदर्शनमा व्यापक सहभागिताका साथ सम्पन्न भएको जनाउँदै देउवाले सबैलाई धन्यवाद दिएका छन्। प्रदर्शनमा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन, मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनविरुद्ध जनभावना अभिव्यक्त भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने प्रधानमन्त्री ओलीको कदमका सम्बन्धमा पार्टीको आधिकारिक धारणा बनाउन ३६ दिनसम्म लम्बिएको बैठकले निर्वाचन वा पुनःस्थापना भन्ने विषयमा भने निर्णय लिन सकेन। संसद् विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै विरोधमा उत्रिएको कांग्रेसले यो विषय अदालतमा पुगेकाले पुनःस्थापना वा निर्वाचन जुन पक्षमा फैसला भए पनि मान्ने बताउँँदै आएको छ। पुनःस्थापनाको पक्षमा खुलेर सडकमा उत्रिका कतिपयले भने कांग्रेसलाई ढुलमुले नीति लिएको आरोप लगाउँदै आएका छन्। पार्टी नेता रामचन्द्र पौडेलसहितका केही नेता पनि पुनःस्थापनाको पक्षमा कांग्रेस खुलेर सडकमा जानुपर्नेमा देखिएका छन्। तर सभापति देउवासहित केन्द्रीय समितिका बहुमत नेता त्यसको विपक्षमा उभिएका छन्।

प्रकाशित: २५ माघ २०७७ ०१:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App