१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिगामी तत्व नेकपा विभाजन गर्न सफल भयो : गृहमन्त्री थापा

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रतिगमनकारीहरुले नेकपा विभाजन गरेको बताएका छन्। ओली पक्षीय काठमाडौं जिल्ला कमिटीले शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यक्रममा नेता बादलले प्रतिगामी तत्वले नेकपा विभाजन गरेको विषय अकाट्य तथ्य भएको दाबी गरे। अहिले नेकपा विभाजित भइसकेपछि प्रतिगामी तत्व उत्साहित भएको उनको भनाई छ।

प्रतिगामी तत्वले अहिलेसम्म प्राप्त उपलब्धीलाई समाप्त पार्ने प्रयास गरिरहको उनको दाबी छ। ‘प्रतिगामी तत्वहरुले अहिलेसम्म प्राप्त उपलब्धीलाई समाप्त पार्ने प्रयास गरिरहेको छ,’ उनले भने,‘त्यस्तो तत्वले आफ्नो गुमेको सत्तालाई कसरी प्राप्त गर्न सकिन्छ भनेर रणनीति बनाइरहेको छ।’  

नेकपालाई विभाजन गर्नको लागि प्रतिगामीहरुले रणनीति बनाएको र त्यसमा उनीहरु सफल पनि भएको उनको दाबी छ। उनले अहिले त्यस्तो तत्व नेकपा नेतृत्वको सरकारलाई कसरी ढाल्ने भन्ने रणनीतिमा रहेको समेत बताए।  

नेकपाभित्रको एउटा गुट अहिले अलग भएको उल्लेख गर्दै बादलले विभाजित कम्युनिस्ट आन्दोलनलाई निर्वाचनबाट एकीकृत गर्नुपर्ने बताए। ‘विभाजित कम्युनिस्ट आन्दोलनलाई जनताले मात्र स्थापित गर्न सक्छन्,’ उनले भने,‘नयाँ निवार्चबाट मात्र विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न सकिन्छ।’

गृहमन्त्री समेत रहेका नेता बादलले अवसरवादीलाई किनारा लगाएर मात्र कम्युनिस्ट आन्दोल सफल हुने समेत जिकिर गरे।  

उनले पूरानो संसदको औचित्य सकिएपछि नयाँ संसदको आवश्यकता परेको दाबी गरे। ‘पूरानो संसदको औचित्य सकियो,’ उनले भने,‘नयाँ संसद स्थापना अहिलेको आवश्यकता हो।’

प्रकाशित: १८ पुस २०७७ ०९:५७ शनिबार

नेकपा विभाजन राम बहादुर थापा ‘बादल’