५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

शेरधन राईले निलम्बन गरेका सांसद को को हुन् ?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेका छन्।  पार्टी विधान विपरित काम गरेको भन्दै दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि मुख्यमन्त्री राईले  निलम्बन गरेका हुन्।  

बिहीबार प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन गरेको बोधार्थ पत्र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा बुझाएका छन्। पत्रमा दलको नेतालाई जानकारी नगराई प्रदेशसभामा अविश्वासको प्रस्तावमा सही गरेको, अनुशासनको पालना नगरेको र सोधिएको स्पष्टीकरणको जवाफसमेत नदिएकाले तीन महिनाका लागि दलको कुनै पनि क्रियाकलापमा भाग लिनबाट बञ्चीत गरिएको उल्लेख छ। निलम्बनमा पर्ने प्रदेशसभा सदस्यहरूममा भीम आचार्य, इन्द्रबहादुर आङबो, जीवन घिमिरे, विजयकुमार विश्वास, टंकबहादुर आङबुहाङ, राजेन्द्रकुमार राई, मोहनकुमार खडका, लिलाबल्लभ अधिकारी, लछुमन तिबारी, कुलप्रसाद साम्बा, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, कुशुम श्रेष्ठ, सरिता थापा र सावित्राकुमारी रेग्मी छन्।  

दलको विधान विपरित दलका नेता मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रतावमा हस्ताक्षर गरेकामध्ये १९ जना प्रदेशसभा सदस्यलाई प्रमुख सतेक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीको निर्देशनमा सोमबार २४ घण्टे स्पष्टिकरण सोधेका थिए। स्पष्टिकरण सोधिएका मध्ये ४ जनाले मौखिक रुपमा जवाफ दिएको र लिखित रुपमा पछि दिने जानकारी गराएकाले निलम्बन नगरिएको राजभण्डारीले बताए। मौखिक स्पष्टिकरण दिने प्रदेशसभा सदस्यमा तुलसीप्रसाद न्यौपाने, रामकुमार राई, झलकबहादुर मगर र उषाकला राई  छन्। केही प्रदेशसभा सदस्यले करकाप गरेर, केहीले जबरजस्ती, केहीले झुक्याएर अविश्वास प्रस्तावमा हस्ताक्षर गराएको जानकारी प्राप्त भएकाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ जना मध्ये  १९ जना प्रदेशसभा सदस्यलाई  मात्रै स्पष्टिकरण सोधिएको राजभण्डारीको भनाई छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने  उदयपुरकी प्रदेशसभा सदस्य कला घलेले अविश्वास फिर्ता लिइसकेकी छन्।  

माधव – प्रचण्ड समूहले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएपछि ओली समूहका राईले पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जनालाई निलम्बन गरेका हुन्। बिहीबार नै माधव– प्रचण्ड समूहले संसदीय दलको नेतामा भीम आचार्यलाई निर्वाचित गरेको पत्र प्रदेशसभामा दर्ता गरेको थियो। मंगलबार अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले दलको नेताको हैसियतमा काम नगर्न उपनेता टंक आङबुहाङले पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राईलाई सचेत गराएका थिए। नेकपाको संसदीय दलको बैठक १९ गतेलाई बोलाइएको भए पनि मुख्यमन्त्रीले दलको नेताको हैसियतले काम गर्न नछाडेकाले तोकिएको मिति अगाबै  १५ गते बुधबार  नै बैठक बसेर भीम आचार्यलाई दलको नेता निर्वाचित गरिएको आङ्बुहाङले जानकारी दिए।  

 

 

प्रकाशित: १६ पुस २०७७ १२:०६ बिहीबार

प्रदेश १ शेरधन राई निलम्बन