४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विवाद नमिल्दा कांग्रेस केन्द्रीय समिति २४ गतेलाई सर्‍यो

कार्यदल बनाएर असन्तुष्टको माग सम्बोधन गर्ने तयारी

नेपाली कांग्रेसका असन्तुष्ट पक्षले उठाएका १६ बुँदे मागमा सहमति जुट्न नसक्दा शुक्रबारका लागि तय गरिएको केन्द्रीय समिति बैठक कार्तिक २४ गतेका लागि सारिएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार दिउँसो बसेको पदाधिकारी, पूर्वपदाधिकारीसहितका नेताहरूको अनौपचारीक छलफलमा पनि नेताहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएपछि केन्द्रीय समिति बैठक नै सारिएको हो । यद्यपी असन्तुष्ट पक्षले उठाएका विषयलाई समाधान गर्न संस्थापन र असन्तुष्ट दुबै कार्यदल गठन गरेर अघि बढ्न सकारात्मक देखिएका छन् ।  

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले २७ केन्द्रीय सदस्यले उठाएको विषयमा टुंगोमा पुग्न बाँकी रहेकाले शुक्रबारका लागि तय गरिएको केन्द्रीय समिति २४ गतेका लागि सारिएको जानकारी दिए । असन्तुष्ट पक्षले उठाएका १६ बुँदे पत्रका विषयमा बिहीबार पनि छलफलमा सहभागि पाँच नेताले धारणा राखेको जानकारी दिंदै केसीले भने, ‘अहिलेसम्म आआफ्नो कुरा राख्ने क्रम चलिरहेकाले बैठक सारिएको हो ।’

पार्टीमा रहेको विधि बिहिनता, अपारदर्शी र मनपरितन्त्रको अन्त्य गरेर सहमति विधि अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्नेमा आफुहरू स्पष्ट रहेको दोहार्‍याउँदै केसीले संस्थापन पक्षका केही नेताहरू अझैपनि आफुहरुले गरेको काम र निर्णय ठिक भएको दाबी गर्दै आएको बताए । ‘केही साथीहरू पार्टीभित्र विश्वासको संकट देखियो त्यसलाई संम्बोधन गरेर जानुपर्छ भन्नेमा हुनुहुन्छ,’ उनले भने, ‘तर, अहिले सम्म कुनै टुंगोमा पुगिसकिएको छैन ।’

असन्तुष्ट पक्षले बुझाएको १६ बुँदे माग सम्बोधनका विषयमा कार्यदल बनाएर जान खोजिएको हो भन्ने प्रश्नमा केसीले भने, ‘सुरुमै कार्यदल बनाउनुपर्दथ्यो । त्यसमा विमति रहेका विषयलाई छलफल गरेर जानुठिक हुन्थ्यो । तर अहिले आआफ्नो कुरा राख्ने काम मात्र भएको छ ।’ नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले आफुहरूले उठाएका माग सम्बोधन नभएसम्म केन्द्रीय समिति बैठकमा सहभागि नहुने अडानपछि विवाद समाधान गर्न कार्यदल गठन गर्न लागिएको हो ।  

असन्तुष्ट पक्षले आफुहरूले उठाएका माग सम्बोधन नभइ अन्य विषयमा प्रवेस नगर्ने अडान राख्दै आएपनि शुक्रबारका लागि तय भएको केन्द्रीय समिति पनि प्रभावित हुने र १४औं महाधिवेशन थप अन्योलमा पर्ने भएपछि कार्यदल बनाएर अघि बढ्न लागेका हुन् । ‘नेता पौडेलसहित २७ केन्द्रीय सदस्यले अघि सारेका विषयलाई कार्यदल बनाएर थप छलफल गरेर समाधानको उपाय खोजिनेछ,’ सहभागि एक नेताले भने, ‘दुबै पक्ष आआफ्नो अडानबाट पछि हटेर समझदारीमा पुग्ने प्रयास भएको छ ।’

सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेक अन्य विषयमा छलफल गर्न तयार रहेको सोमबारकै छलफलमा बताएको जानकारी दिंदै उपसभापति विमलेन्द्र निधिले भने, ‘अन्य कुरामा आपसी समझदारीमा अघि बढ्न सकिन्छ ।’

संस्थापन पक्ष पार्टीको १४औं महाधिवेशनको नयाँ मितिसहितका अन्य विषयमा असन्तुष्ट पक्षको सहमतिमै अघि बढ्न लचिलो देखिएको छ । सहमतिमा १४औं महाधिवेशन वैशाख अन्तिम वा जेठभित्र सम्पन्न गर्नेगरी विषय प्रवेस भएको स्रोतको दाबी छ । ‘संबैधानीक व्यवस्था अनुसार हामीलाई महाधिवेशन गर्ने भदौसम्मको समय त छ तर अन्तिममा  पुर्‍याउनु हुँदैन भन्नेमा छौं,’छलफलमा सहभागी एक नेताले भने । जेठमा महाधिवेशन गर्ने भए चैतभित्र तल्लो तहको अधिवेशन गर्नुपर्ने जनाउँदै अझै वैशाखमै गर्ने भए फागुनमै तल्लो तहको अधिवेशन सक्नुपर्ने नेताहरूले बताउँदै आएका छन् ।  

नेता पौडेलसहित असन्तुष्ट पक्षले अहिले नै फागुन ७का लागि तय भएको महाधिवेशनको मिति सार्नुभन्दा क्रियाशील सदस्यसहित तत्काल गर्नुपर्ने विषयमा मात्र निर्णय लिनुपर्ने पक्षमा देखिएका छन् । तर, संस्थापन पक्ष भने आगामी केन्द्रीय समितिबाट पार्टीको १४औं महाधिवेशनको नयाँ मितिसहितको कार्यतालिका टुंगो लगाउने र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर कांग्रेस छिरेका सुनिल थापासहितका नेताहरूको नयाँ जिम्मेवारी दिने निर्णय गराउने पक्षमा छन् । थापालाई सहमहामन्त्री दिने र अन्य पाँच नेतालाई पार्टीको केन्द्रीय सदस्य बनाउने यसअघि समझदारी गरेका छन् ।

असन्तुष्ट पक्षको माग सम्बोधन गर्नेसहितका विषयमा समझदारी निर्माण गर्न कांग्रेस नेताहरू सोमबार पनि छलफलमा जुटेका थिए । दुबै पक्षले आआफ्नो अडान दोहोर्‍याएपछि मंगलबार पुनः छलफलमा बस्ने नेताहरूबीच समझदारी भएको थियो । तर, मंगलबार आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि छलफल स्थगित भएको थियो । शुक्रबार ११ बजे पुनः नेताहरू छलफलका लागि जुट्नेछन् ।

प्रकाशित: २० कार्तिक २०७७ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App