१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

वैशाखभित्र कङ्ग्रेस नेतृत्वमा सरकार : महामन्त्री सिटौला

गजेन्द्र बोहरा, दाङ, चैत २५ - नेपाली कङ्ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले वैशाखभित्रै नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन्। उनले त्यसका लागि माओवादी, एमालेलगायतका सबै दलहरुसँग सहमति भइसकेको समेत दावी गरे।
शनिबार दाङको घोराहीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा सिटौलाले भने, '२०६९ साल वैशाख महिनाभित्रै राष्ट्रिय सहमतिको सरकार कङ्ग्रेसको नेतृत्वमा बन्छ, त्यसका सबै मधेशी दल, एमाले, कांग्रेस अनि अरुहरुसँग पनि छलफल र लगभग सहमति भइसकेको छ।'

माओवादी पनि दुईपटक, एमालेले पनि दुईपटक नेतृत्व गरिसकेपछि अब स्वतः पालो नेपाली कांग्रेसकै भएको उनको भनाइ थियो। 'तपाईहरु पनि आफैं भन्न सक्नुहुन्छ, अरुको त पालो पुगिसकेको छ, अब कङ्ग्रेसकै पालो हो, फेरि चुनाव कांग्रेसकै नेतृत्वमा हुन्छ,' सिटौलाले भने, 'प्रधान मन्त्री को भन्ने कुरा छ, त्यसलाई हाम्रा तीनजना नेताहरु(शुसील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल)बसेर एकै घण्टामा टुङ्गो लगाउनुहुन्छ।'

पत्रकार सम्मेलनमा सिटौलाले अबको एकसाताभित्रै शान्ति प्रक्रियाको मूलकाम माओवादीको शिविर खाली हुने र हतियार पनि राज्यकै मातहतमा आउने र त्यसपछिको सातदिनमा संविधानसभाभित्रका विवादहरु समाधान भइसक्ने पनि बताए। त्यसपछि जेठ १४मै संविधान बन्ने उनको भनाई थियो। 'संविधान बन्छ, त्यसमा सबै ढुक्क हुनुस्, जेठ १४मै संविधान बन्छ, शान्ति प्रक्रियाका मूलभूत काम ७ दिनमै सकिन्छ, अनि त्यसपछिका सात दिनमा संविधानसभाका विवादित विषयहरुको टुङ्गो लाग्छ।'

शान्ति प्रक्रिया अन्तर्गतको मूल काम सेना र हतियार राज्यको मातहतमा आइसकेपछि र शिविर खाली भइसकेपछि दलहरुमा फेरि नयाँ विश्वास कायम हुने उनको भनाई थियो। 'र त्यही विश्वासको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बन्छ,' उनले भने, 'नेपालका राजनीतिक दलहरु संविधान निर्माणका लागि प्रतिवद्ध छन्, सक्षम छन्।' उनका अनुसार सुरक्षा निकायको मापदण्ड पूरा गर्ने ५ देखि ६ हजारसम्मका माओवादी लडाकुहरु सेनामा समायोजन हुनेछन्।

प्रकाशित: २४ चैत्र २०६८ २२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App