६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आउदो वर्षमा १३ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा करिब १ हजार ३ सय मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने बताएका छन् । 

संघीय संसद प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत उर्जा जलस्रोत था सिँचाइ मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै आगामी वर्ष १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने बताए । उनले भने, 'आगामी आर्थिक वर्ष भित्रमा ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका साथै निर्माणाधिन रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोशी, निजी लगानीबाट प्रवर्दित अन्य आयोजनाबाट सम्पन्न भई करिब १३ सय मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने छ ।’ उनले आगामी आर्थिक वर्षको भदौ महिनासम्ममा माथिल्लो तामाकोशीको निर्माण सम्पन्न हुने बताए ।

जलविद्युत आयोजनाहरुको निर्माणका लागि प्रयोग हुने केही सामग्रीको भन्सार दर बढाइएको भन्ने प्रश्नमा मन्त्री पुनले आगामी दिनमा संशोधन गरी अगाडी जान सकिने बताए । उनले भने, 'जलविद्युत आयोजनाहरुको निर्माणकाक्रममा नेपालमा उत्पादन नहुने विभन्न निर्माण समग्री तथा विद्युतिय उपकरणहरुमा मूल्य अभिवृद्धिकर छुट तथा एक प्रतिशत भन्सार लाग्दै आएको छ । यी निर्माण सामग्रीहरुको छुट दिने सूचिमा विभिन्न समयमा सामान्य परिवर्तन गर्ने क्रममा पेनस्टक पाइपलाई यथावतै राखी स्टिल पातामा केही भन्सार थप भएतापनि आगामी दिनमा यसको आस्यक संशोधन गर्दै लगिने छ ।’

राष्ट्रिय गौरवका सिक्टा, रानीजमरा, कुलरिया, भेरी बबई डाइभर्सन र बबई सिँचाइ आयोजनाको  निर्माण कार्यलाई छिटो सम्पन्न गर्ने कार्यलाई तीव्रता दिइने बताए । यस्तै महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाइएको जानकारी दिए । पहाडी तथा हिमाली क्षेत्रमा सबै कृषि योग्य ठाउँहरुमा सौर्यउर्जाको प्रयोग गरी लिफ्ट सिँचाइ योजना कार्यान्वयन गर्दे जाने र आगामी आर्थिक वर्ष भित्रमा करिब ५ सय हेक्टर क्षेत्रमा कार्यक्रम सम्मपन्न गर्ने बताए ।

ट्युबेल निर्माणमा कुनैपनि राजनीतिक दवाव तथा राजनीतिक आस्थाका आधारमा कार्यक्रम तय नगरिएको बताए । दुई नम्बर प्रदेशको भरपर्दो सिँचाइका लागि सुनकोसी मरिन डाएभर्सन बहुउद्देशिय आयोजनाको सम्पूर्ण तयारी भइसकेको र आगामी आर्थिक वर्षमा सुरुङ निर्माणको काम सुरु हुने जानकारी दिए ।    

कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान रहेको र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्दा २ प्रतिशत आर्थिक वृद्धि थप हुने र सिँचाइले मात्रै करिब २८ लाखले थप रोजगारी पाउने अनुसन्धानले देखाएको जानकारी दिए ।

विद्युत खतपत बढाउने विद्युतीय चुलो र विद्युतीय गाडी लगायतको क्षेत्रमा विद्युत खपत बढाउने वातावरण निर्माण गर्ने नीति अवलम्बन गरिएको बताए । उनले अहिले पनि औद्योगिक क्षेत्रमा माग अनुसारको विद्युत आपूर्ति हुन नसकेको जानकारी दिए । उनले औद्योगीक क्षेत्रमा थप ३ सयदेखि ४ सय मेगावाट विद्युत खपत हुन सक्ने प्रक्षेपण गरिएको बताए । उनले विद्युत खपत बढाउनका लागि चुनौति रहेको र आन्तरिक रुपमा वृद्धि गर्न र भारत तथा बंगलादेशमा समेत बिक्री गर्ने गरी पूर्वाधार निर्माणमा जोड दिइएको स्पस्ट पारे ।

गत वर्षदेखि इनर्जी एक्सचेन्जको मार्फतबाट भारतीय बजारमा पठाइएको र अव पनि अधिक इनर्जीलाई भारतीय बजारमा सोही माध्यमबाट पठाउने काम भइराखेको मन्त्री पुनले जानकारी दिए । उनले भारतीय सरकारी कम्पनी एनबीबीएनसँग विद्युत प्राधिकरणको जोइन्ट भेन्चरमा काम गर्ने तयारी भइराखेको स्पस्ट पारे । त्यसबाहेक भारतीय र बंगलादेशको बजारमा पठाउनको लागि विभिन्न काम भएको जानकारी दिए ।  

उनले गत वर्ष झण्डै १८ अर्बको विद्युत भारतबाट आयात भएको र ३७ करोडको निर्यात भएको र यसवर्ष अलिकति सप्लसमा जाने बताए । नयाँ बजेटबाट १० युनिटसम्म विद्युत उपयोग गर्ने उपभुक्ताहरुलाई इनर्जी शुल्क मिनाहाको व्यवस्था गरिएको बताए ।  

लकडाउन अवधिमा १५० युनिटसम्म खपत गर्ने ३१ लाख ३० हजार ग्राहक रहेको उनीहरुको लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको र २५० युनिटसम्मलाई १५ प्रतिशत छुट गरिएको छ यसबाट ३ लाख ३३ हजार ग्राहकलाई सुविधा दिने बताए । यसबाट लकडाउनको  अवधिमा १ अर्ब ३० करोड बराबर विद्युत शुल्क छुट दिने प्रस्ताव गरेको छ । यस्तै औद्योगिक ग्राहकलाई डिमान्ड शुल्कमा मिनाहा गर्ने यसबाट १ अर्ब ८२ करोडको राहत हुने बताए ।  

त्यस्तै सिँचाइ र सामुदायिक खानेपानीको डिमान्ड सुल्कको समेत मिनाहा गर्ने प्रस्ताव गरिएको स्पस्ट पारे । यसरी लकडाउनको अवधिमा ११ अर्ब ६२ करोडको विद्युत शुल्कमा छुट पाउने व्यवस्था गरिएको जानकारी दिए । यसको व्यवस्थापन प्राधिकरण र सरकार दुवैले मिलेर गर्ने स्पस्ट पारे ।

उनले लकडाउनका कारण सुरुमा जलविद्युत आयोजनाको निर्माणको कार्य प्रभावित भएपनि अहिले पूर्णरुपमा कार्यान्वयनमा आइसकेको बताए । उनले करिब ३२ सय मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको आयोजनामा काम भइराखेको स्पस्ट पारे ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०९:५४ मंगलबार

जलविद्युत् आर्थिक वर्ष राष्ट्रिय प्रसारण लाइन