१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नयाँ नक्सा प्रयोगमा ल्याउन सबै निकायलाई परिपत्र

सरकारले राज्यका सबै निकाय र कार्यालयलाई कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको अद्यावधिक नयाँ नक्सा प्रयोगमा ल्याउन परिपत्र गरेको छ।  भूमि व्यवस्था मन्त्रालयले आइतबार सबै मन्त्रालय तथा कार्यालयलाई नयाँ नक्सा प्रयोग गर्न पत्राचार गरेको हो। सरकारले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमार्फत सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तहमा नयाँ नक्सा प्रयोग गर्न परिपत्र गरेको छ।  

मन्त्रालयले राज्यका अन्य सबै निकायमा नयाँ नक्सा प्रयोग गर्न आग्रह गरेको छ। ‘राज्यका सबै निकायमा नयाँ नक्सा प्रयोग गर्न आग्रह गरेका छौं,’ भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले भने, ‘मुख्यमन्त्री कार्यालयहरूमा प्रधानमन्त्री कार्यालयमार्फत र स्थानीय तहहरू संघीय मन्त्रालयमार्फत यस्तो परिपत्र गरेका हौं।’

संघीय मन्त्रालयहरू तथा संघ मातहतमा रहेका कार्यालयमा भने भूमि व्यवस्था मन्त्रालयले आफैं पत्र पठाएको छ। मन्त्रालयले पठाएको पत्रमा पुरानो नक्सा हटाएर त्यसको ठाउँमा नयाँ नक्सा प्रयोग गर्न आग्रह गरिएको छ। मन्त्रालयका अनुसार पाठयक्रममा पनि अद्यावधिक गरिएको नयाँ नक्सा राखिने भएको छ।

नापी विभागले पनि सरकारले पास गरेको नयाँ नक्सा उत्पादन तथा वितरण गर्न सुरु गरेको छ। हालसम्म करिब ४ हजार प्रति नयाँ नक्सा छापिएको विभागले जनाएको छ। तत्काल १० हजार नयाँ नक्सा छाप्ने तयारी विभागले गरेको छ। ‘सरकारले अद्यावधिक गरेको नक्साको उत्पादन तथा वितरण गर्न सुरु गरेका छौं,’ नापी विभागका महानिर्देशक प्रकाश जोशीले बताए। विभागका अनुसार सर्वसाधारण जो कोहीले पनि नयाँ नक्सा विभागबाट लिन सक्नेछन्। विभागले आफ्नो वेबसाइटमा डाउन लोड गरेर नयाँ नक्सा प्रयोग गर्नसक्ने व्यवस्था पनि मिलाएको छ।  

मन्त्रिपरिषद्को बैठकको जेठ ५ गतेको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो। त्यसको दुई दिनपछि जेठ ७ गते भूमि व्यवस्था मन्त्रालयले औपचारिक रूपमा नक्सा सार्वजनिक गरेको थियो ,

भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्सा सार्वजनिक गरेलगत्तै भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले विभिन्न दलका नेताका घरघरमै गई नयाँ नक्सा हस्तारण गरेकी छन्। मन्त्रीले मन्त्रालय तथा नापी विभागका केही उच्च कर्मचारीलाई पनि सँगै लिएर नेताहरूलाई घरघरमा नयाँ नक्सा पु-याएकी हुन्। उनको यस अभियानको सामाजिक सञ्जालमा आलोचना भएको छ।  

अर्यालले शुक्रबार  राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी थिइन्। त्यस्तै उनले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेकी छन्।  

मन्त्री अर्यालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका नेता माधव नेपला, झलनाथ खनाल, वामदेव गौतमलगायत नेतालाई घरमै गई नयाँ नक्सा हस्तान्तरण गरेकी छन्। यसको चौतर्फी आलोचना भइरहे पनि मन्त्री अर्यालले यो क्रम अझै रोकेकी छैनन्।

प्रकाशित: १३ जेष्ठ २०७७ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App