४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारतले नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएको विषय कांग्रेसले सदनमा उठाउने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएको विषयलाई संसदमा उठाउने भएको छ।

नेपालको भूभाग एक इन्च पनि अतिक्रमण हुन नदिन बताउँदै आएको बर्तमान सरकारले भारत र चीनसँग कुटनीतिक पहल गरी टुंगोमा पुर्‍याउन दबाब दिनका लागि कांग्रेसले यो विषयलाई संसदको विषय बनाउने भएको हो। आईतबार बिहान न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयमा कांग्रेसले आईतबारकै संसद बैठकमा कुरा उठाउने बताए। उनले भारतले नेपालको भूमि लिपूलेक हुँदै चीन तिब्बतमा रहेको मानसरोवर जाने गरी सडक निर्माण गरेको विषयमा कुटनीतिक पहल अगाडि बढाउनुपर्ने बताए।

उनले भने ‘हामी त यसमा कुरा उठाउँछौं। सदनमा नै कुरा उठाउछौं। यसको बारेमा सरकार अलि संवेदनशिल हुनु पर्‍यो। यो चानचुने कुरा होइन। हाम्रो भूभाग अरु कसैले हस्तक्षेप गर्छ भने त त्यो हामीलाई स्वीकार्य हुँदैन। तसर्थ हामीले भारत र चाइनासँग पनि कुरा गरेर सरकारले नै कुरा गर्नुपर्ने हो। यो विषयमा कि उनीहरुले दुई वटै देशसँग कुरा गरेर यो विषयलाई सबैभन्दा पहिले टुंगो लगाउनु पर्‍यो। हाम्रो जग्गामा उनीहरुले बाटो बनाउन मिल्दैन।

महामन्त्री कोइरालाले नेपालको भूमि अतिक्रमण गरी सडक बनाउने विषय अत्यन्त संवेदनशिल भएकाले एक इन्च पनि आफ्नो भूमि अरुलाई दिननहुने तर्फ सरकार संवेदनशिल हुनुपर्ने बताए। यो विषयमा भारतसँग मात्रै नभई चीनसँग समेत कुरा गर्नुपर्ने उनले बताए। उनले भने ‘यो अत्यन्त संवेदनशिल विषय हो। यसमा चाहिं मेरो दृष्टिकोणबाट हामीले आफ्नो क्षेत्रलाई अरुको हातमा दिन मिल्दैन। एक इन्च पनि हामीले जग्गा अरुलाई दिन मिल्दैन। तसर्थ यो लिपुलेकको बारेमा म सरकारलाई त्यहि भन्न चाहन्छु की वहाँहरुले चीन र भारतसँग कुरा गरेर यसलाई छिटो भन्दा छिटो स्थगन गर्न लाग्नु पर्‍यो। किन भने यो हाम्रो क्षेत्रमा पर्दैन भनेत हामीले केही भन्न मिलदैन तर हाम्रै क्षेत्रमा अहिले जुन हामी ठहर गर्दैछौं की हाम्रो क्षेत्रमा पर्छ भनेर त्यो हो भने त यो रोक्नु पनि उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ।’

शुक्रबार भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि सीमा विवाद पुन बहसको विषय बनेको छ।

 

 

 

               

प्रकाशित: २८ वैशाख २०७७ ०५:२० आइतबार

लिपुलेख सडक कांग्रेस