काठमाडौं - नवगठित जनता समाजवादी पार्टीमा शीर्ष नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ। नेताहरुको मर्यादाक्रम निर्धारण मुख्य चुनौतीका रुपमा रहेको छ। बुधबार रातिको वार्तामा पहिलो अध्यक्षमा महन्थ ठाकुर र दोस्रो अध्यक्षमा बाबुराम भट्टराईलाई राख्ने सहमति भएको छ। त्यसबाहेक अरु विषयमा पछि छलफल गर्ने समझदारी बनेको नेताहरुले बताएका छन्।
तत्कालीन राजपाका अरु पाँचजना अध्यक्ष तथा तत्कालीन समाजवादी पार्टीका उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठको मर्यादाक्रम निर्धारणमा समस्या देखिएको छ। पार्टी एकीकरण प्रक्रियाका सबै घटनामा तत्कालीन राजपाका दुई अध्यक्ष अनिल झा र राजकिशोर यादव सहभागी छैनन्। यिनीहरूको व्यवस्थापनले चुनौती झनै थपिनेछ।
समाजवादीका नेताहरूले तेस्रो मर्यादामा उपेन्द्रलाई राख्नुपर्ने माग राखेका छन्। तेस्रोमा उपेन्द्रलाई राखे चौथोमा राजेन्द्र महतोलाई राख्नुपर्ने महतोनिकटका नेताहरूको भनाइ छ। यसपछि महेन्द्र यादव, शरत्सिंह भण्डारी र राईमध्ये कसलाई अगाडि राख्ने ? यसबारेमा बुधबारको बैठकमा सामान्य छलफल भए पनि टुंगो लागेन।
तत्कालीन राजपाका अरु पाँचजना अध्यक्ष तथा तत्कालीन समाजवादी पार्टीका उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठको मर्यादाक्रम निर्धारणमा समस्या देखिएको छ।
दुवै पार्टीका नेताले बराबरीको सिद्धान्तका आधारमा एकीकरण भएको दाबी गरेका छन्। बराबरी सिद्धान्तकै आधारमा केन्द्रदेखि गाउँसम्म संगठनात्मक संचरना तयार हुने उनीहरुको भनाइ छ। यस्तो भएमा राजपामा ६ अध्यक्ष छन्, समाजवादी पार्टीबाट पनि ६ अध्यक्ष ल्याउँदा १२ सदस्यीय अध्यक्षमण्डल बनाउनुपर्छ। अध्यक्षमण्डलमा कति सदस्य राख्ने वा अध्यक्ष मण्डल बनाउने÷नबनाउने भन्ने विषयमा छलफल नै नभएको महतोले बताए। उनले भने, ‘यस विषयमा अब छलफल हुन्छ। छलफलबाटै सबै कुराको टुंगो लाग्छ।’
समाजवादी सरकारबाट बाहिरिनुअघि दुई पार्टीबीच भएको छलफलमा नेतृत्वको विषयमा तीनवटा मोडेलमा कुराकानी भएको थियो। अध्यक्षमण्डल संरचनामा जाँदा मर्यादाक्रममा उपेन्द्रअगाडि राईलाई राख्न त्यतिखेर महतोले प्रस्ताव गरेका थिए तर यसमा उपेन्द्रले असहमति जनाएका थिए। अब यो विकल्प उपयुक्त नहुने तत्कालीन राजपाका सहमहामन्त्री सुरेन्द्र झाको भनाइ छ।
समाजवादी पार्टीमा नेता व्यवस्थापनबारे उनले एउटा सुझाव अघि सारेका छन। उनका अनुसार ठाकुर र भट्टराईलाई अध्यक्षमण्डलमा राख्ने, उपेन्द्र, महतो, भण्डारी, महेन्द्र र राईको हकमा माथिल्लो तहको एउटा कुनै निकाय सिर्जना गरी उनीहरूलाई त्यहाँ राख्न सकिन्छ। उनले भने, ‘अध्यक्षमण्डल बढीमा दुई सदस्यीय बनाउँदा उपयुक्त हुन्छ। अरु नेताहरूलाई एउटा समिति बनाऔं र त्यहाँ राखौं।’
राजपाका केन्द्रीय सदस्य साढे ८ सय छन्, पदाधिकारी १ सय ३१ जना छन्। महासचिव मात्रै ३१ जना छन्। समाजवादी पार्टीमा ४ सयको हाराहारीमा केन्द्रीय सदस्य छन्। राजपा र समाजवादी पार्टीका हालका पदाधिकारीको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को समस्या छ। राजपा र समाजवादीका केन्द्रीय सदस्यलाई नवगठित पार्टीको केन्द्रीय समितिमा राख्दा केन्द्रीय सदस्यको संख्या १३ सयभन्दा बढी हुन्छ।
यति ठूलो संख्यामा केन्द्रीय सदस्य बनाउन उपयुक्त नहुने झाले बताए। राजपाका एक पदाधिकारी भन्छन्, ‘बुधबार राति जसरी भए पनि दुई पार्टीबीच एकीकरण प्रक्रिया टुंगोमा पु¥याउनैपर्ने बाध्यता थियो। नेता व्यवस्थापनको विषयमा कुराकानी भएको भए त्यो दिन वार्ता टुंगिने थिएन। त्यसैले यस विषयमा पछि छलफल गर्नेगरी बुधबार एकीकरण प्रक्रिया टुंग्याएका थियौं।’
प्रतिनिधिसभा चुनावलगत्तै राजपा र समाजवादीबीच एकीकरणका लागि पटकपटक वार्ता भएको थियो तर नेतृत्वका विषयमा कुरा नमिल्दा निष्कर्ष निस्कन सकेको थिएन। खासगरी मर्यादाक्रममा पहिलो स्थानमा कसलाई राख्ने भन्ने विषयमै कुरा मिल्दैनथ्यो। ‘यसपटक भने ठाकुरलाई पहिलो स्थानमा राख्न उपेन्द्र तयार भए। त्यसकारण एकीकरण प्रक्रिया सहजै टुंगोमा पुग्यो’, स्रोतले भन्यो।
एकीकरण प्रक्रिया टुंगिएको भोलिपल्ट बिहीबार एकीकृत पार्टीका नेताहरू निर्वाचन आयोग र संसद् सचिवालयमा सँगै गएका थिए। त्यसपछि उनीहरुले औपचारिक छलफल गरेका छैनन्। चाँडै छलफल हुने र बाँकी कुरा टुंगोमा पु¥याउने महतोले बताए।
प्रकाशित: १४ वैशाख २०७७ ०६:०९ आइतबार