६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश हितमा साझा निष्कर्ष निकाल्छौं: मुख्यमन्त्री पोखरेल

फाइल तस्बिर

बुटवल – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चालु अधिवेशनबाटै प्रदेशको नाम र स्थायी राजधानीको विषय टुंग्याउने बताएका छन्। बिहीबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले सिंगो प्रदेशको हितमा हुने गरी सहमतिमै साझा निष्कर्ष निकालिने बताएका हुन्। पुरानै आञ्चलिक मनोविज्ञानभित्र समीकरण खोज्ने हो भने प्रदेशको अस्तित्व नै संकटमा पर्नसक्ने भन्दै उनले सांसदलाई आञ्चलिक मनोविज्ञान त्याग्न आग्रह गरे। राप्ती र भेरीको संवेदनशीलतालाई लुम्बिनीले र लुम्बिनीको संवेदनशीलतालाई राप्ती र भेरीले बुझ्नुपर्नेमा उनले जोड दिए।

‘राप्ती र भेरीका साथीले लुम्बिनीको र लुम्बिनीका साथीले राप्ती र भेरीको संवेदनशीलतालाई बुझ्नुस्,’ मुख्यमन्त्री पोखरेलले भने। सिंगो प्रदेशको हितमा सोच्ने हो भने साझा बिन्दु भेटिने तर्क मुख्यमन्त्रीको थियो। स्थायी राजधानी माग्ने विषय नभई निर्माण गर्नुपर्ने भएकाले सत्ता र प्रतिपक्षका सबै सांसद यसमा उत्तिकै जिम्मेवार भए सहमति जुट्ने विश्वास मुख्यमन्त्रीले व्यक्त गरे। ‘प्रदेशका माननीयज्यूहरूले आफ्नो ठाउँको कुरा कम गरौं, प्रदेशको कुरा गरौं। बनाउने हामीले नै हो। चाहेपछि हामीले गर्न नसक्ने केही छैन भन्ने आत्मविश्वासका साथ काम गरौं। बिना तनाव साझा निष्कर्ष निस्कन्छ,’ मुख्यमन्त्री पोखरेलले भने।

केही दिनअघि दाङ राजधानी लैजाने षड्यन्त्र भएको भन्दै बुटवल पक्षधर सांसदले बुटवलमै गोप्य भेला गरेका थिए। भेलामा सहभागी सांसदले बुटवलबाट राजधानी सार्न नदिने उद्घोष पनि गरेका थिए। बिहीबार सदनमार्फत मुख्यमन्त्रीले घुमाउरो भाषामा ती सांसदलाई जवाफ पनि दिए। प्रदेश सांसदको रूपमा प्रदेश सभामा प्रवेश गरेपछि सिंगो प्रदेशको संवेदनशीलतालाई ख्याल गरेर साझा सोच विकास गर्न सुझाए। सिंगो प्रदेशको हितमा हुनेगरी साझा धारणा बनाउन नसके त्यसले जटिल मोड निम्त्याउने भनाइ मुख्य मन्त्रीको थियो।

सरकारको निर्देशन पालना गर्न आग्रह
संसद् बैठकमा मुख्यमन्त्री पोखरेलले राज्यले आमजनताको हितमा जारी गरेका स्वास्थ्यसम्बन्धी निर्देशन पालना गर्न प्रदेशवासीलाई आग्रह गरेका छन्। कोरोना संक्रमणको सम्भाव्य जोखिमबाट बच्न केन्द्र र प्रदेश सरकारले जारी गरेका निर्देशन पूर्ण रूपमा पालना गर्न उनले सबैलाई आग्रह गरेका हुन्। कोरोनाको जोखिमलाई ध्यानमा राखी प्रदेश सरकारले धेरै मानिस जम्मा हुने खालका सभासम्मेलन, मेला महोत्सव तथा कुनै कार्यक्रम नगर्न गरेको निर्देशनको पूर्ण रूपमा पालना नभएको भन्दै उनले स्वास्थ्य जस्तो संवेदनशील विषयलाइ गम्भीरतापूर्वक लिन आग्रह गरे।

चीनमा सरकारको निर्देशन पालना गरेकै कारण महामारीका रूपमा फैलिएको कोरोना अहिले नियन्त्रण उन्मुख भएको भन्दै उनले त्यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताए। मुख्यमन्त्रीले बिहेव्रतबन्ध आदिमा धेरै मानिसको भिड जम्मा नगर्न, वृद्धवृद्धालाई केही समयका लागि तीर्थाटन नगर्न र सभा समारोहका नाममा मानिसको भिड जम्मा नगर्न संघसंस्थालाई आग्रह गरे। उनले कोरोनाको जोखिमविरुद्ध प्रदेशका बाह्रवटै जिल्लामा सचेतना जगाउने, विभिन्न असपतालमा आइसोलेसन वार्ड निर्माण, सीमा क्षेत्रमा स्वास्थ्य जाँचलगायत तयारी भइरहेको जानकारी दिए।

बिहीबारको प्रदेश सभा बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवासर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वातावरण सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने निर्णय ग¥यो। संसद्को अर्को बैठक चैत ४ गते बस्नेछ।

प्रकाशित: ३० फाल्गुन २०७६ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App