४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'उद्घाटन जहाँ पनि भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने ?'

काठमाडौं- राष्ट्रिय सभा सदस्यहरुले संसदप्रति उत्तरदायी बन्दै भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा थप कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले संसदमा उठेका सवालमा इमान्दार भएर जवाफ दिन सरकार र सरकारका मन्त्रीको ध्यानाकर्षण गराएका हुन्। त्यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न पनि आग्रह गरे।

राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले निर्वाचित जनप्रतिनिधिहरुको थलो संसदप्रति उत्तरदायी बन्न सरकारको ध्यानाकर्षण गराएका छन्। संसदको विभिन्न समयमा के कस्ता विषयमा कुरा उठेको छ भन्ने सम्म मन्त्रीहरुलाई जानकारी नहुने गरको भन्दै उनले संसदप्रति इमान्दार, जवाफदेही र उत्तरदायी बन्न आग्रह गरे। सरकार र सरकारका मन्त्रीहरुले सांसदले उठाएका सार्वजनिक सरोकारका विषयप्रति जवाफदेही नभएकोमा आक्रोश पाखे।  

उनले भने, 'जवाफ नदिने। बोले पनि हुने, नबोलेपनि हुने। ठिक बोलेपनि हुने बेठिक बोले पनि हुने। मनलागे बोले नि हुने। मन नलाए नबोले नि हुने। यस्तो प्रकारको सदन भएपछि सदनको गरिमा घट्छ अध्यक्ष महोदय। सदनको गरिमा घट्यो भने व्यवस्थामाथि प्रश्न उठ्छ। जनताका प्रतिनिधिलाई हेप्ने प्रकारले कुरा गरेपछि प्रश्न उठ्छ। त्यसैले उद्घाटन व्यापक रुपमा मन्त्रीले भ्याउने। उद्घाटन गर्न जहाँ नि भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने? संसदमा के बोलियो त्यसमा ध्यान दिन पर्‍यो।'

संसदमा सांसदहरुले उठाएका सबै विषयको रेकर्ड राख्दै ती सवालको जवाफ दिएर जनताप्रति आफ्नो इमान प्रदर्शन गर्न पनि उनले आग्रह गरे। उद्घाटन गर्न जहाँ पनि पुग्ने गरेका मन्त्रीहरु सदनमा भने कमै उपस्थिति जनाउने गरेको तर्फ पनि उनले ध्यानाकर्षण गराए।

सदन प्रभावकारी बनेर आधुनिक, प्रगतिशील र जनमुखी कानुन बनाएर अघि बढेमा व्यवस्था विरोधीहरु त्यसै 'झिसमिस’ हुने तर्क गरे।

प्रकाशित: २९ फाल्गुन २०७६ ११:१२ बिहीबार

उद्घाटन संसद जवाफ