१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री हिँड्न थाले

फाइल तस्बिर

काठमाडौं – मिर्गौला प्रत्यारोपणको तेस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ठोस खाने कुरा खाएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। ‘ठोस खाने कुरा दियौं,आजदेखि हिंडाउन पनि थाल्यौं’प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिब्यासिंह शाहले भनिन्। प्रधानमन्त्री ओलीले पहिलो पटक फोनमा निजी सल्लाहाकार विष्णु रिमाललाई फोनमा समेत बोलेका थिए। ‘फोनमा प्रधामन्त्रीले मेरो स्वास्थ्यमा तिब्र रुपमा सुधार भएको छ, साथीहरुलाई भनिदिनु’ सल्लाहाकार रिमालले जनाएका छन्। प्रम ओलीको प्रत्यारोपण टिचिङ अस्पताल महाराजगंजमा गत बुधवार भएको थियो।

त्रिविवि शिक्षण अस्पतालले शुक्रवार प्रधामन्त्री र मिर्गौला दाता समिक्षा संग्रौलाको स्वास्थ्य स्थिति बारे जानकारी दिदैं अन्य अवस्था समेत सामान्य रहेको जानकारी दिएको छ। अस्पतालका निर्देशक डा.प्रेम खड्गा तथा प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाहले एक साताभित्र डिस्चार्ज गर्ने स्थिति रहेको जानकारी दिए। ‘उहाँलाई दुई/चार दिन बढी राख्छौं’ डा. शाहले भनिन्। यस प्रक्रिया अनुसार मिर्गौला प्रत्यारोपणको पाँच दिनभित्र डिस्चार्ज गरिन्छ।

प्रधानमन्त्रीकी भान्जी तथा मिर्गौला दाता समिक्षा संगौंलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनलाई पनि प्रधामन्त्रीलाई जस्तो सामान्य ठोस आहार र हिंडडुल गराइएको छ। निजी सल्लाहाकार विष्णु रिमाल वाहेक अरुसित फोनमा पनि नवोलेको चिकित्सकले बताए।

मिर्गौला प्रत्यारोपण गरे लगत्तै मिर्गौलाले राम्रोसित काम गर्न थालेकोले पहिलो चरणको जोखिम पार भएको छ। दोस्रो चरणमा संक्रमण तथा अन्य स्वास्थ्य जोखिमवाट बचाउन बिशेष हेरचाहको आवश्यक  रहेको निजी चिकित्सक डा.सिंहले बताइन्। प्रत्यारोपणको दोस्रो दिनदेखि आफ्ना चिकित्सकहरुसित सामान्य वोलचाल गर्न थालेका हुन्। ‘हामीसित वोलिरहनु भएको छ’टिचिङ अस्पताल महाराजगंज,युरोलोजी विभागका प्रमुख डा.उत्तम शर्माले भने। ‘जस्तो अपेक्षा गरेका थियोैं,त्यस्तै सुधार भएको छ,व्युँझेपछि नै हामीसित सामान्य कुराकानी गरिरहनु भएको छ’ डा.सिंहले भनिन्। तेस्रो दिन स्वास्थ्यकर्मीले नै  ओलीलाई विस्तारै हिंडाएका थिए। उता मिर्गौला दाता संग्रौलाले भने आधा होशमै प्रधामन्त्रीको स्वास्थ्यको अवस्था बारे सोेधेको डा.शाहले बताइन्। ‘वेहोसमै मामालाई कस्तो छ भन्दै सोधिरहनु भएको थियो’उनले भनिन्। प्रधानमन्त्रीलाई संक्रमण जोखिम मुक्त गर्नको लागि अस्पतालले पनि विशेष सावधानी अपनाएको जनाएको छ। उनलाई आईसियुको सट्टा कलेजो प्रत्यारोणको आईसियुमा राखिएको छ।

प्रधानमन्त्रीको बढी उमेरमा भएको दोस्रो मिर्गौला प्रत्यारोपण जोखिमपुर्ण भएपनि चिकित्सकहरुले विशेष सावधानी अपनाएर प्रत्यारोपण सफल भएको थियो। गतवर्षदेखि बिग्रिंदै गएको मिर्गौलामा वीचमा एक्कासी क्रिटिनाइन घटेपछि सामान्य अवस्थामा फर्काउन चिकित्सकलाई समेत हम्मे परेको अनुभव डा.शाहले सुनाइन्। मिर्गौलाले काम गर्न छोडेपछि अन्य देशमा मिर्गौला प्रत्यारोपण गर्ने प्रस्ताव पनि आएको थियो। तर नेपालमै अनुभव चिकित्सक रहेको र पहिला प्रत्यारोपण गरेका भारतको एपोलो अस्पतालका चिकित्सक डा.अनन्त कुमारको समेत परामर्श लिएपछि सहज भएको थियो। ‘पहिला प्रत्यारोपण गर्दा कुन–कुन जटिलता आएको थियो भन्ने विषयमा नेपालमै आएर कुराकानी गरेका थियौं’उनले भनिन्। नेपालमै मिर्गौैला प्रत्यारोपण गर्ने अन्तिम निर्णय भने प्रधामन्त्री ओली आफैले गरेका थिए।

चिकित्सकका अनुसार यो वाहेक मिर्गौला छनौट गर्नु अघि नै प्रधानमन्त्रीको शरिरमा भएको एन्टिवडी भन्दा फरक मिर्गौला छनौट गरेकोले यो मिर्गौला सफल हुने सम्भावना छ। ‘नयाँ मिर्गौला नष्ट नगर्ने खालको एन्टिवडी थाहा पाएपछि मात्र छनौट गरिएको हो’उनले भनिन्। पहिल्यै मिर्गौला प्रत्यारोपण भइसकेको बढी उमेर भएका प्रधानमन्त्रीलाई दोस्रो पटक प्रत्यारोपण गर्नु चिकित्सकको लागि पनि चुनौतीको कुरा थियो। सावधानी पुर्वक गरेको कामको सफलताले नेपालका मिर्गौला चिकित्सक सफल छन् र नेपाल जुनसुकै मिर्गौला उपचारमा सक्षम छ भन्ने सन्देश दिएको डा. शाहले बताइन्। ‘देशकै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल  हुनुले कुनै पनि मिर्गौला उपचारको लागि विदेश जानु पर्दैन भन्ने सन्देश जनता माझ पुगेको छ’डा.सिंहले भनिन्।

प्रत्यारोपणको दोस्रो चरण एक महिनाभित्र समेत विशेष निगरानीका साथ उपचार आवश्यक रहेको डा.सिंहले बताइन्। सिंहका डिस्चार्जपछि पनि नियमित चिकित्सकको हेरचाहमै राख्नु पर्नेछ। एक महिनापछि पनि संक्रमणबाट बच्नु पर्नेछ। यसको लागि संक्रमित व्यक्तिवाट टाढा बस्ने,भीडभाडमा बस्न नहुने,शारिरीक स्वास्थ्य,खानपान,नियमित औषधी सेवनमा उत्तिकै ख्याल राख्नु पर्नेछ। एक महिनापछिका दिनहरु पनि पहिलेको भन्दा अनुशासित बनाउनु पर्नेछ। जसमा समयमा सुत्ने,उठ्ने,नियमित औषधी सेवन जस्ता पक्षलाई नियमपुर्वक अपनाउनु पर्नेछ। शुक्रवार पनि प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्नेहरुको अस्पतालमा वाक्लो उपस्थिति देखिन्थ्यो।

प्रकाशित: २४ फाल्गुन २०७६ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App