२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जालमा लेखा समितिमाथि आक्रमणले तनाव

काठमाडौं- सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरणलाई लिएर सामाजिक सञ्जालमा लेखा समितिको विश्वसनियतामाथि आक्रमण गर्ने काम भएको भन्दै समिति सदस्यहरुले तत्काल छानविन गर्न सभापतिको ध्यानाकर्षण गराएका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा समिति सदस्यहरुले सामाजिक सञ्जालमा समिति र आफूहरुको चरित्र हत्या गर्ने काम भएको भन्दै त्यस्ता प्रयोगकर्तालाई छानविनको दायरामा ल्याई साईबर अपराध अन्र्तगत कारबाही गर्न माग गरेका हुन्।

सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरणमा स्वीस कम्पनीसँग कमिसन मागेको अडियो सार्वजनिक भएलगत्तै 'जर्मन कम्पनीलाई दिनका लागि लेखा समितिका मान्छेले पनि कमिसन खाने गरि सेटिङ गरिसकेका थिए' भन्दै समितिका सदस्यहरुको तस्बिर सार्वजनिक भएको देखाउदै उनीहरुले सभापतिको ध्यानाकर्षण गराएका हुन्।

समिति सदस्य सुर्य पाठकले सांसदहरुको चरित्र हत्या गर्ने काम भएको र सो आफूलाई स्वीकार्य नुहने भन्दै कारबाही प्रक्रिया अघि बढाउन माग गरे।

अर्का सदस्य डाक्टर मिनेन्द्र रिजालले '७४ करोड होइन ४ अर्ब खाएर आज जर्मन कम्पनीलाई ठेक्का दिन थालेसी स्वीस एजेन्टले क्लिपबाहिर ल्याएको’ भन्दै प्रभात किशोर उपाध्यायको नाममा सामाजिक सञ्जालमा आफूहरुको तस्बिर पनि सार्वजनिक हुनु लेखा समिति माथिकै आक्रमण भएको भन्दै गम्भीरतापूर्वक लिन आग्रह गरे। सरकारले गरेका अन्य वद्मासीका काम पनि छानविन नहोस् र प्रभावित बनुन् भनेर समितिमाथि आक्रमण गर्ने काम भएको भन्दै उनले त्यस्ता प्रयोगकर्तामाथि तत्काल छानविन थाल्न सभापतिको ध्यानाकर्षण गराए।

मोहम्मद इस्तियाक राईले पनि सांसदहरुको चरित्र हत्या गर्ने काम भएको भन्दै यस प्रकरणमा सार्वजनिक भएका भिडियो लगायतका सामाग्री सबैको अध्ययन गर्नुपर्ने धारणा राखे। त्यसैगरी धर्मशिला चापागाईले सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरण सम्बन्धमा छिटो छिटो रुपमा विभिन्न कोणका सामाग्री बाहिर आईरहेकाले समिति त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याइन्।

सांसदहरुले विज्ञको रुपमा आएका स्वीस कम्पनीका स्थानीय एजेण्टले सार्वजनिक गरेको अडियोका सम्बन्धमा पनि समितिमा झिकाई छलफल गर्नुपर्ने माग गरेका थिए।

'४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिने कार्यमा संलग्न सांसदहरु’ भन्दै समितिका सदस्यहरुको तस्बिर सार्वजनिक सञ्जालमा आएपछि सांसदहरु आक्रोशित हुँदा बैठकमा केहीसमय होहल्ला मच्चिएको थियो ।

 

प्रकाशित: ८ फाल्गुन २०७६ ०९:३४ बिहीबार

सेक्युरिटी_प्रिन्टिङ_स्थापना_प्रकरण तनाव