९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

नेताहरु थोकमा आए, समस्या समाधान खुद्रामा भयो : सांसद पाण्डे

भैरहवा- रुपन्देही क्षेत्र नं.३ का प्रदेश सभा सदस्य सन्तोस पाण्डेले नेताहरु थोकमा आए पनि समस्या समाधान खुद्रा रुपमा गरेको बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघको ६१औँ साधरणसभा तथा अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै सांसद पाण्डेले उद्योगी व्यवसायीहरु वास्ताविक समस्यामा परेको नेताहरुलाई अवगत नहुँदा उद्योगी व्यवसायीको समस्या केही मात्र समाधान हुने गरेको बताए।

बढ्दै गइरहेको आर्थिक गतिबिधि तथा तीव्र औद्योगिक बिस्तारका आधारमा औद्योगिक राजधानीको रुपमा विकास भइरहेको भैरहवालाई सत्तापक्ष र प्रतिपक्षसँगै हरेक क्षेत्रका व्यक्ति मिलेर मात्र जनताको समस्या समाधन र विकास हुने बताए। उनले १० वर्षदेखि सम्पन्न हुन नसकेको वेलहिया बुटवल सडक अबको ३ महिनामा सम्पन्न हुने जसको लागि प्रदेश सरकारले गम्भीर भएर ध्यान दिएको बताए। बुद्ध सबैका लागि हुन् जातियको विकास होइन, मानवताको विकासलाई अगाडि बढाउने उनले आग्रह गरे।

प्रदेश सभा सदस्य फकरुद्दीन खानले यस क्षेत्रलाई ईन्टरटेनमेन्ट जोनको रुपमा विकासित लैजानु पर्ने बताए। पेशालाई ३ वटै तहको सरकारले संरक्षण गर्नुपर्ने भए पनि गर्न नसक्नु निराशाजनक भएको बताउदै अर्थतन्त्र चलायमान गराउन महत्वपूर्ण भूमिका खेल्ने निजी क्षेत्रका लागि प्रतिपक्षले पनि झकझकाउन नसकेको स्वीकार गरे।  

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य द्वय कृष्णप्रसाद शर्मा र राजेश अग्रवालले पूर्वाधार निर्माण सम्पन्न गर्न नसकेको सेज र निर्माणधिन विमानस्थललाई छिट्टै सम्पन्न गर्नुपर्ने, उद्योगीहरुको मुख्य समस्या औधोगिक र पर्यटनको विकासको एजेण्डालाई बुंदागत रुपमा पहल गर्नुपर्ने, नविकरण हुन नसकेको निजी क्षेत्रको उद्योगलाई नविकरण नहुने विडम्बनालाई समाधान गर्नुपर्ने, १० वर्षसम्म २२ किमी सडक बनाउन नसक्ने सरकारलाई उद्योगी व्यवसायीको समस्या स्वस्थानीको कथा सुनाए जस्तो भएको बताए।

सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रमुख उमा काफ्लेले जनताले तिरेको राजश्वको सदुपयोग भएको छ की छैन निजी क्षेत्रले खबरदारी गर्नुपर्ने बताइन्। प्रदर्शनी तथा महोत्सव गर्नका लागि मण्डपको अभाव रहेको नगरभित्र नगरपालिकाले साढे ६ बिघा जग्गा टुङगेकोले  २ महिनामा डिपीआर सम्पन्न हुने बताइन्। जसको संरचना र भौतिक विकासका लागि निजी क्षेत्र प्रदेश सरकार र संघीय सरकारसँग सहयोगको अपेक्षा रहेको बताइन्।

कार्यक्रममा संविधान सभा सदस्य ओमप्रकाश यादव, पूर्व सांसद आदित्यनारायण कसौधन,  लुमिबनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, पूर्व अध्यक्ष ओमकार गौचनलगायतले शुभकामना मन्तव्य राखेका थिए। संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले स्वागतसहित संघको इतिहास र कार्यक्रम बारे जानकारी वरिष्ठ उपाध्यक्ष भिष्म न्यौपानेले धन्यावाद र महासचिव नेत्र आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए।
 

 

प्रकाशित: ३ फाल्गुन २०७६ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App