१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'समृद्धि हासिल गर्न भ्रष्टाचार बाधक'

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयद्वारा आयोजित २९ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख सचिव तोयम राय लगायत। तस्बिर : अशोकसुजन/ नागरिक

मकवानपुर – वाग्मती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माण गर्न देश भ्रष्टाचारमुक्त हुनुपर्ने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयद्वारा आयोजित आयोगको २९औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार निर्मूल पार्न सबै जनता गम्भीर भएर लाग्नुपर्ने जिकिर गरे।

‘समृद्ध नेपाल त्यति बेला सम्भव हुन्छ, जब देशमा सुशासन कायम हुन्छ,’ उनले भने, ‘समृद्ध नेपाल त्यसबेला हुन्छ, जब समाज भ्रष्टाचारमुक्त हुन्छ।’ हरेक क्षेत्रमा साना–ठूलादेखि देख्दै नदेख्नेसम्मका भ्रष्टाचार हुने गरेको भन्दै उनले भ्रष्टाचारमुक्त गर्न काम गर्ने शैली परिवर्तन गर्नु पनि अत्यावश्यक भएको बताए।

‘राजनीतिक र सामाजिक परिवर्तन भए पनि रूपान्तरणको कुरा र चिन्तन गरेका छैनौं,’ उनले भने, ‘आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिए भ्रष्टाचार निरन्तर घट्दै जानेछ।’ पैसाको लेनदेनलाई मात्र भ्रष्टाचार भन्ने सीमित बुझाइ रहेको भन्दै मुख्यमन्त्री पौडेलले कर्मचारी, शिक्षकले अल्छी गर्ने, काम नगर्ने गर्नु पनि भ्रष्टाचार भएको जिकिर गरे।

अख्तियार देखाएर सरकारी कर्मचारीले काम नगर्ने परिपाटी मौलाएको भन्दै उनले विकास, निर्माण र सेवा प्रवाहमा गम्भीर असर पारेको तर्क गरे। ‘कसैले नाम टिपाइदियो वा उजुरी दियो भने सबै काम ठप्प हुन्छ,’ उनले थपे, ‘अख्तियारले कागजात मगाएपछि कर्मचारी हामी काम गर्दैनौं भनेर तर्किन्छन्।’

सबै वर्ग, क्षेत्र र समुदाय मिलेर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचार गर्नेलाई कुनै हालतमा उन्मुक्ति नदिई कडा कारबाही गर्नुपर्ने बताए। ‘स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार बढेर बदनाम भएको छ, भ्रष्टाचार रोक्न जनप्रतिनिधिले ठेकेदार वा जनप्रतिनिधिमध्ये एक रोज्नुपर्छ,’ उनले भने।

पूर्वसांसद एवं भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठले राजनीतिक क्षेत्र र सरकारको नेतृत्व तहमा गम्भीर प्रकृतिका भ्रष्टाचार भइरहेकाले न्यूनीकरण गर्न अख्तियारलाई अधिकार दिनुपर्ने बताए। ‘बालुवाटार जग्गा प्रकरणमा अख्तियारलाई कमजोर बनाउने कार्य भइरहेको छ,’ उनले भने, ‘अख्तियारलाई बलियो बनाउँदै भ्रष्टाचारविरुद्ध पाठ्यपुस्तक तयार गरी आदर्श र अनुशासित नागरिक उत्पादनमा तत्काल सरकारले ध्यान दिनुपर्छ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाका प्रमुख शिवकुमार कार्कीले स्थानीय तहमा भ्रष्टाचार बढेको बताउँदै चालू आवको सात महिनामा १५ वटा स्ट्रिङ अप्रेसन गरेको जानकारी दिए।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, वाग्मती प्रदेशका प्रमुख सचिव तोयम राय, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुरका प्रजिअ नारायणप्रसाद भट्ट, नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्टलगायतले असल कर्मचारीले निडरताका साथ काम गर्न पाउनुपर्ने र ठूला भष्टाचारीलाई सजाय दिनुपर्ने भन्दै विकास, निर्माणमा रोकावट नआउने वातावरण निर्माण गर्न अख्तियारले भूमिका खेल्नुपर्नेमा जोड दिए।

आयोगले आव २०७५/७६ मा गरेको स्थानीय तहमा हुने भ्रष्टाचारसम्बन्धी अवधारणा सर्वेक्षणमा भ्रष्टाचार बढेको देखाएको थियो। सर्वेक्षणअनुसार ७१ दशमलव ५ प्रतिशत भ्रष्टाचारीलाई कारबाही नभएकाले भ्रष्टाचार बढेको बताएका थिए। त्यस्तै, ३७ दशमलव २ प्रतिशतले राजनीतिक संरक्षण, ३६ दशमलव ८ प्रतिशतले चुनावमा लाग्ने खर्च उठाउन भ्रष्टाचार बढेको अख्तियारको तथ्यांक छ।

प्रकाशित: २९ माघ २०७६ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App