४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रचण्डले भने, 'मधेस मेरो माइती घर, मायाममता टुट्ने छैन'

झण्डा मेला उद्घाटन गर्न प्रचण्ड सिरहाको सखुवानन्काकट्टीमा । तस्बिरः मिथिलेश/नागरिक

सखुवानन्कारकट्टी(सिरहा)- पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यकताका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन्। संविधान संशोधनका लागि हाम्रो पार्टी(नेकपा) सकारात्मक रहेको उनले प्रष्ट्याए।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा बिहीबार दोस्रो झण्डा मेला उद्घाटन गर्दै दाहालले भने,‘मलाई सिरहा आउँदा माइती घर आएजस्तो अनुभूति हुन्छ। उनले थपे,‘सिरहा मात्र होइन मधेस नै मेरा लागि माइतिघर हो, यो मैले अन्तरआत्माको आवज बोलेको हुँ।’ दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर सिरहाका जनताकै मायाममता र साथबाट सम्भव भएकोले पनि यो जिल्ला मेरा लागि विशेष भावनात्मक छ, उनले भने।

‘म मधेसीको ऋणी छु, संविधान संशोधन प्रक्रिया अघि बढ्छ’

‘विद्रोहको तयारीदेखि विद्रोहको क्रममा भएका बलिदानीमा पनि मधेसको महत्वपूर्ण तथा अर्थपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले,‘मैले नेतृत्व गरेको विद्रोहमा मधेसबाट १३ सय जनाले बलिदानी दिए जुन आजसम्म कुनै पनि विद्रोहमा दिएका छैनन्।’ ‘मधेसबाट भएको यती ठूलो त्याग र बलिदानको म ऋणी छुँ’ उनले भने।

मधेस, पहाड र हिमाललाई एकताको सूत्रमा बाँधेर अधिकार र विकासको लडाईलाई नयाँ उचाईमा पुर्‍याउने जिम्मेबारी आफ्नो काँधमा रहेको उनले जिकिर गरे। सिरहाको जनप्रतिनिधिको हैसियतले संविधान निर्माणमा भूमिका खेलेकोले स्मरण गरे,‘यहीँको जनप्रतिनिधिको हैसियतले लोकतान्त्रिक निर्वाचनको उद्घाटन गर्ने सुनौले अवसर प्राप्त गरे।’ मलाई गर्भ छ स्थानीय तह, प्रादेशिक वा केन्द्रीय निर्वाचन होस् मधेसका जनता नै सबैभन्दा बढी सक्रिय सहभागी भए उनले भने,‘ प्रधानमन्त्रीको हैसियतले त्यो निर्वाचन उद्घाटन गर्ने अवसर मैले प्राप्त गरे।’ ‘स्थानीय तहको पहिलो चरणको निर्वाचनले मधेसमा निर्वाचनको नयाँखाले वातावरण बन्यो’ उनले भने, ‘त्यसको नेतृत्वको अवसर पनि मैले प्राप्त गरे।’

संविधान घोषणा गर्दैगर्दा एउटा मुद्दा बढो सचेतसाथ राखेको उनले उल्लेख गरे,‘देशको सार्भौमसत्ता, राष्ट्रको स्वाधिनता र भौगोलिक अखण्डताबाहेक अन्य सबै विषय जनआकाँक्षाअनुसार परिमार्जन, संशोधन गर्न सकिने प्रावधान राखेका छौं।’ विगतका संविधानहरुमा राजनीतिक तथा जनताका अधिकारका मुद्दाहरुलाई अपरिवर्तणीय भनिदिएर बन्ध्याकरण गर्ने प्रावधानहरु हुने गर्दथ्यो तर, यो संविधानमा त्यस्ता प्रावधान राखिएको छैन, उनले भने। मधेसको भावनात्मक सम्मानका लागि दुईदुई पटक संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको सन्दर्भ उल्लेख गर्दै उनले,‘आउने दिनमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन पार्टीमा छलफल चलिरहेको छ, पार्टी सकारात्मक छ।’

पूर्व मन्त्री एवं नेकपा नेता मातृका प्रसाद यादवले मधेस केन्द्रीत दलप्रति आक्रोश व्यक्त गर्दै भने,‘उहाँहरुलाई(मधेसी दलका नेता) सत्ता चाहिएको हो कि अधिकार?’उनी थप कडकिए,‘उहाँहरुलाई पैसा चाहिएको हो कि अधिकार प्रष्ट्याउनुपर्‍यो।’ एउटा दल सत्ताको सिंढीबाट ओर्लिने बितिकै अर्को दल खुट्ट उचालेर सिंढी चढ्ने प्रवृतिप्रति उनको आक्रोश थियो।

कार्यक्रममा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह सांसदहरु सुरेशचन्द्र दाश यादव, लिलानाथ श्रेष्ठ, जगतप्रसाद यादव, रामकुमार यादवलगायतको सहभागिता थियो। कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

 

 

प्रकाशित: २३ माघ २०७६ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App