काठमाडौं – सरकारले गृहसचिवमा महेश्वर न्यौपानेलाई सरुवा गरेको छ। गृहसचिव प्रेमकुमार राईले अवकाश पाउन केही दिन बाँकी छँदा दिएको राजीनामा स्वीकृत भएसँगै मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले रिक्त गृहसचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई सरुवा गर्ने निर्णय गरेको हो। न्यौपानेले यसअघि पर्यटन, सार्वजनिक खरिद अनुगमन कार्यालयमा काम गरिसकेका छन्।
माघ २२ गते बुधवारबाट ५ बर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाउन लागेका राईले दुई दिनअघि अर्थात् माघ २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत भएसँगै रिक्त गृहसचवि पदमा न्यौपानेलाई सरुवा गरिएको हो। मन्त्रिपरिषद्ले राईसँगै बुधवारदेखि नै अवकाश पाउन लागेका उपराष्ट्रपतिको कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामासमेत स्वीकृत गरेको थियो। बुधबारदेखिनै अर्थसचिव राजन खनाल र नेपाल ट्रष्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुरले सचिवको रूपमा पाँच वर्ष कार्यकाल पूरा गरी अवकाश पाउँदैछन्।
मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेश १ का प्रमुखसचिव सुरेशकुमार अधिकारीलाई सरुवा गर्ने निर्णय गरेको छ। प्रदेश १ को प्रमुख सचिवमा उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईलाई बढुवा गरी पदस्थापन गरिएको छ।
संयुक्त राष्ट्रसंघमा जागिर खान कृषिसचिवको राजीनामा
कृषी सचिव डा. युवकध्वज जिसीले संयुक्त राष्ट्रसंघमा जागिर खान पदबाट राजीनमा गरेका छन्। संयुक्त राष्ट्रसंघ अन्र्तगतको खाद्य एवं कृषी संगठन (एफएओ)मा जागिर खान सचिव जिसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा दिएका हुन्। जिसीको राजीनामा माघ २९ बाट कार्यान्वयन हुनेगरी स्वीकृत भएको छ। २०७३ माघ ६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सचिवमा बढुवा भएका जिसी सचिवको रुपमा आफ्नो दुई वर्ष कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिएका हुन्।
एफएओको क्षेत्रीय प्रमुखका रूपमा केही समयअघि नाम निकालेका जिसी राजीनामा दिएसँगै अब दुई साताभित्रै जिम्मेवारी सम्हाल्ने तयारीमा छन्। एफएओको क्षेत्रीय कार्यालय थाइल्याण्डको बैंककमा छ। निजामती सेवामा १८ वर्ष विताएका जिसीले राजीनामा दिए पनि अवधि पूरा नगरेका कारण पेन्सन भने पाउने छैनन्। यसअघि तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीले मुख्य सचिवबाट राजीनामा दिए एसियाली विकास बैंक (एडिवी)को वैकल्पिक कार्यकारी निर्देशकमा गएका थिए भने स्वास्थ्य सचिव पुष्पा चौधरीले राजीनामा दिएर विश्व स्वास्थ्य संगठनमा जागिर खान गएकी थिइन्।
प्रकाशित: २२ माघ २०७६ ०२:४० बुधबार