१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमसिसी संसदबाट पारित हुन्छ: गृहमन्त्री

तस्बिर: प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापासहित अन्य। नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत - गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय हित अनुरुप हुने गरेर अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पास हुने बताएका छन्। शनिबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले देशको विकास र समृद्धिका लागि बाह्य सहयोग आवश्यक रहेको बताए।

‘संझौतामै नेपालको संसद र अमेरिकी सिनेटले एमसिसी पारित गर्ने उल्लेख भए अनुसार अहिले संसदमा यो प्रस्ताव दर्ता भएको हो,’ गृहमन्त्री थापाले भने, ‘केही बुँदाहरु संशोधन गरेर चाँडै अमेरिकी सहयोगको परियोजना पारित हुन्छ।’ उनले एमसिसीमा संशोधन हुने बुँदाका बारेमा भने केही उल्लेख गरेनन्।

कर्णाली प्रदेशको प्रदेश स्तरीय सम्मेलनमा भाग लिन आएका गृहमन्त्री थापाले संविधान र राज्यविरोधी समूह सरकारको नियन्त्रणमा रहेको बताए। ‘विप्लव समूह राज्यविरोधी भएकाले सरकारले प्रतिवन्ध लगाएको हो,’ उनले भने, ‘अहिले विप्लव समूह पूर्ण नियन्त्रणमा नभए पनि आधारभूत रुपमा राज्यको नियन्त्रणमा छ।’ उनले विप्लव समूहसँग वार्ताको प्रयास भइरहेको पनि बताए।

गृहमन्त्री थापाले पछिल्लो समय भारतसँगको सम्वन्धमा चिसोपना आएको बताए। ‘नाकाबन्दीका बेला विग्रिएको भारतसँगको सम्वन्धमा क्रमिक सुधार आइरहेको थियो,’ गृहमन्त्री थापाले भने, ‘पछिल्लो समय भारतले जारी गरेको नयाँ नक्साका कारण फेरि सम्वन्धमा चिसोपना आएको छ।’

गृहमन्त्री थापाले शान्ति र स्थायित्वविना विकास र समृद्धिको कल्पना पनि गर्न नसकिने भएकाले राज्यविरोधी शक्तिहरुलाई नियन्त्रण गर्दै सरकार समृद्धिको मार्गमा अघि बढिरहेको बताए। उनले नेपाललाई आधार बनाएर विभिन्न देशविरुद्ध भइरहेका अपराध नियन्त्रणमा सरकार सफल भएको दावी गरे। ‘नेपाललाई आधार बनाएर अपराधिक गतिविधि गरिरहेका चिनियाँ नागरिकहरुलाई हामीले देश निकाला गरेका छौं,’ उनले भने, ‘सिमापार हुने अपराध नियन्त्रणमा पनि राज्य सफल भएको छ।’

गृहमन्त्री थापाले सुशासनका क्षेत्रमा पनि राज्यले उल्लेख्य प्रगति गरेको बताए। ‘सुशासनविना विकास संभव छैन् भन्ने राज्यको ठम्याइ हो, राज्यले भ्रष्टाचारविरोधी शून्य सहनशिलताको नीति अवलम्वन गरेको छ,’ उनले भने, ‘त्यसको परिणाम यो वर्ष सुशासनको क्षेत्रमा नेपाल ११ प्रतिशतले माथि उक्लिएको छ।’

प्रकाशित: ११ माघ २०७६ ०६:०१ शनिबार

एमसीसी रामबहादुर_थापा गृहमन्त्री