२८ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईविरुद्ध जाहेरी

दुई वर्षअधि नेकपा अध्यक्षद्वयलाई आफ्नो निवासमा खाना खुवाउँदै दुर्गा प्रसाईँ (बाँया)

काठमाडौं – चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी विरुद्ध २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका दुर्गा प्रसाईलाई प्रहरीले नै जोगाउन खोजेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार नै पक्राउ पुर्जी जारी गरे पनि उनलाई समाउन नसकेपछि प्रहरी नै उनको बचाउमा लागको देखिएको हो।

‘किन पक्राउ गरिएन भनेर नसोध्नुस्, आफैं अनुमान गर्नुस्,’ एक प्रहरी स्रोतले भन्यो, ‘प्रहरीलाई पक्राउ गर्न भन्दैमा सबै पक्राउ गर्नसक्छ भन्ने छैन।’ पुस २३ गते पत्रकार सम्मेलन गर्दै मेडिकल अस्पताल सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविरुद्ध २० करोड रूपैयाँ घुस मागेको ‘गम्भीर’ आरोप लगाएका थिए। आफूमाथि गम्भीर आरोप लगाएको भन्दै छानबीन र कारबाहीको माग गर्दै आयोगका उपाध्यक्ष डा. गिरीले काठमाडौं जिल्ला अदालत र भक्तपुर प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीमा आयोगको हाताभित्र आएर अनावश्यक पर्चा टाँसेको, धाकधम्की दिएको, हुल हुज्जत गरेका र अभद्र व्यवहार गरेको उल्लेख छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सबिन प्रधानले मुद्दा दर्ता भएर प्रसाईमाथि खोजी कार्य तीव्र भइरहेको दाबी गरे। ‘हामीले पक्राउ गर्नको लागि खोजी तीव्र पारेका छौं,’ उनले भने, ‘पक्राउ पुर्जी जारी भएलगत्तै उनीमाथि अनुसन्धान भइरहेको छ।’

पत्रकार सम्मेलनमा उपाध्यक्ष गिरीले आफूसँग २० करोड रूपैयाँ घुस मागेको प्रसाईंले बताएका थिए। झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पताललाई मेडिकल कलेज बनाउन सहयोग माग्दा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले आफूसँग पैसा मागेको बताएका थिए। त्यसलगत्तै गिरीले आपत्ति जनाउँदै कारबाहीको लागि प्रशासन गुहारेका थिए। उपाध्यक्ष डा. गिरीले आफूलाई लगाइएको आरोप निराधार र भ्रमपूर्ण रहेको भन्दै त्यसको स्पष्टीकरण माग गर्दै आएका थिए। प्रसाईविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुर र काठमाडौं जिल्ला अदालतमा ‘अभद्र व्यवहार’ दुईवटा मुद्दा परेका छन्। गिरीले आफू असुरक्षित भएको र अभद्र व्यवहार भएको भन्दै जाहेरी दिएका थिए।

प्रकाशित: ३ माघ २०७६ ०१:५० शुक्रबार

चिकित्सा_शिक्षा_आयोग घुस दुर्गा_प्रसाई