१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली र दाहाल आ–आफ्नै अडानमा

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्णय गर्न नसक्दा सभामुख निर्वाचन धकेलिएको छ। नेकपाले सभामुखको उम्मेदवारबारे निर्णय लिन नसकेकै कारण बुधबारका लागि डाकिएको प्रतिनिधिसभा बैठक मंगलबारै सूचना टाँसेर करिब दुई साता पछाडि सारिएको छ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहारको आरोप लागेपछि असोज १३ गते राजीनामा दिएपछि सो पद खाली छ। उनी तत्कालीन माओवादी केन्द्र खेमाबाट सभामुख भएका थिए।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार पार्टीभित्रबाट कसलाई सभामुखको उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भए पनि टुंगो लागेन। यस विषयमा दुई नेताबीच बालुवाटारमा झन्डै अढाइ घन्टा छलफल भएको थियो। अध्यक्षद्वय निष्कर्षमा नपुग्दै नेकपा प्रदेश ३ का नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेपछि छलफल रोकियो।

सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका अध्यक्षद्वय ओली र दाहाल आ–आफ्नै अडानमा रहेका कारण छलफल निष्कर्षमा पुग्न नसकेको र यसले प्रतिनिधिसभा बैठक प्रभावित भएको स्रोतको भनाइ छ।

‘प्रधानमन्त्रीसमेत रहेका ओली सुवास नेम्बाङ र दाहाल अग्निप्रसाद सापकोटालाई सभामुख बनाउनुपर्ने अडानमा छन्। यसै कारण बुधबार डाकिएको प्रतिनिधिसभा बैठक मंगलबारै सूचनामार्फत यही पुस २७ गतेसम्म स्थगित गरिएको हो,’ प्रधानमन्त्री निवास बालुवाटार निकट स्रोतले जनायो। सभामुख चयनमा अध्यक्षद्वयबीच सहमति नजुटेपछि सभामुख निर्वाचन प्रक्रिया नै पछि धकेलिएको हो।

अध्यक्षद्वयबीच मंगलबार बिहान १० बजेदेखि दिउँसो १२ः३० बजेसम्म सभामुख चयन र एमसिसीका विषयमा छलफल भएको बताइएको छ। स्रोतका अनुसार सभामुखमा सहमति जुटाउन छलफल भए पनि दुवै अध्यक्ष आ–आफ्नो अडानबाट पछि नहट्दा टुंगो लाग्न नसकेको हो। पूर्वमाओवादीबाट प्रस्तावित सापकोटालाई सभामुख बनाउन प्रधानमन्त्री तथा अध्यक्ष ओली सकारात्मक नभएपछि छलफल रोकिएको स्रोतको दाबी छ।  पूर्वमाओवादी केन्द्रका नेताहरूले पटकपटक अध्यक्ष दाहाललाई सभामुख पद नछाड्न दबाब दिइरहेका छन्। गत शनिबार पनि दाहाल निवास पुगेका पूर्वमाओवादी केन्द्र खेमाका नेताहरू सापकोटा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझीलगायतले सभामुख पद नछाड्न दबाब दिएका थिए।

सभामुखमा दुई अध्यक्षबीच सहमति नजुट्दा पुस ४ गते बसेको प्रतिनिधिसभा बैठक औपचारिकतामा सीमित भयो। ११ गतेका लागि डाएिको बैठक सूचना टाँसेर १६ गतेका लागि सारियो। यसबीचमा पनि नेकपामा सहमति नभएपछि १५ गते नै सूचना टाँसेर २७ गतेका लागि सारिएको छ।  नेकपा महासचिव विष्णु पौडेलले सभामुखको विषय छिट्टै टुंगिने बताए। उनका अनुसार अब प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै सभामुख चयन पहिलो प्राथमिकतामा पर्नेछ।

नेकपाभित्रको ओली समूहले नेम्बाङलाई सभामुख बनाउन चाहन्छन्। नेकपाभित्रको माधव नेपाल समूह भने यो विषयमा मौन छ। दाहाल समूह सापकोटालाई सभामुखको उम्मेदवार बनाउन चाहन्छ। उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि सभामुखमा आफ्नो दाबी छाडेकी छैनन्। उनले अहिलेसम्म राजीनामासमेत दिएकी छैनन। नेम्बाङ सदन चलाउन अनुभवी मानिन्छन्। पार्टी एकताकै बेला पूर्वमाओवादी केन्द्र पक्षमा राखिएको सभामुख छाड्न दाहाल समूह तयार देखिएको छैन। पूर्वमाओवादी केन्द्रका एक नेताले घटनाक्रम जसरी अगाडि बढे पनि सभामुख पद छाड्न तयार नरहेको उल्लेख गरे। नेकपाभित्र सभामुख चयनलाई लिएर ठूलो विवाद सिर्जना भएको छ। पूर्वमाओवादी खेमाबाट सभामुखको दौडमा पूर्वमन्त्री सापकोटासँगै देव गुरुङ र पूर्वसभामुख ओनसरी घर्तीमगरको नाम पनि चर्चामा आएको छ।

नेकपाको मंसिर २७ मा बसेको लसचिवालय र मंसिर २९ मा बसेको स्थायी कमिटी बैठकमा पनि सभामुख चयन विषयले प्राथमिकता पाएको थियो। स्थायी कमिटीले दुई अध्यक्षको सहमतिपछि सचिवालयमा छलफलका लागि ल्याउने र सभामुख टुंग्याउने अनमुति दिएको थियो। अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारलाई समेत सहयोग गर्ने व्यक्तिलाई सभामुखमा ल्याउन चाहन्छन्। तर उपसभामुख तुम्बाहाम्फेले आफू सोही पदका लागि योग्य रहेको बताउँदै आएकी छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीसँग भेटेर आफू सो पदका लागि योग्य भएको जनाइसकेकी छन्। पार्टीका विभिन्न नेतासँग पनि उनले छलफल गरेकी छन्।

प्रकाशित: १६ पुस २०७६ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App