८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सीमा विवाद सुल्झाउन कूटनीतिक पहल सुस्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा–कालापानी सीमा विवाद सुल्झाउन विशेष दूतको रूपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भारत पठाउने भने पनि यसबारे औपचारिक पहल भएको छैन। प्रधानमन्त्री ओली बिरामी भएका कारण भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटघाटका लागि औपचारिक पहल हुन नसकेको हो। सरकारका तर्फबाट सचिवस्तरीय बैठक राख्ने प्रयास पनि सफल हुन सकेको छैन।

प्रधानमन्त्री ओलीले कात्तिक २५ गते पूर्वप्रधानमन्त्री नेपाललाई बालुवाटार बोलाएर विशेष दूतका रूपमा भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न आग्रह गरेका थिए। तर प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग समय नलिएकै कारण नेपाल भारत जान सकेका छैनन्। ‘प्रधानमन्त्री ओलीले नेपाललाई विशेष दूतका रूपमा भारत जान आग्रह गरेका हुन् तर समकक्षीसँग प्रधानमन्त्रीको कुराकानी हुन नपाएकै कारण नेपालको भ्रमण रोकिएको हो’, नेकपा स्रोतले भन्यो। गत महिना भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेपछि सीमा विवाद बल्झेको हो। त्यसपछि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएर राष्ट्रिय सहमति जुटाएका थिए।

ओलीले नेपालसँग छलफलकै बीचमा मोदीलाई फोन गरे पनि सम्पर्क हुन सकेको थिएन। त्यसपछि नेपाल टर्की भ्रमणमा गए भने ओली अस्पताल भर्ना भए। ‘प्रधानमन्त्री ओली बिरामी भएपछि समकक्षी मोदीसँग कुराकानी गर्न पाइएको छैन’, स्रोतले भन्यो, ‘परराष्ट्र मन्त्रालयले पनि सचिवस्तरीय बैठक प्रस्ताव गरेको छ। त्यसकारण पनि ढिलो भएको हुन सक्छ।’ प्रधानमन्त्रीको आग्रहपछि नेपालले भारतीय राजदूतलाई बोलाएर भेटेका थिए। भारतीय राजदूतसँग भेट गरेपछि नेपालले परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीसहित पूर्वपरराष्ट्र सचिव, राजदूतलगायत १४ जनासँग छलफल गरेका थिए। छलफलमा पूर्वराजदूत भेषबहादुर थापा, रमेशनाथ पाण्डे, भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्य तथा सीमाविद् सहभागी थिए।

‘नेकपाको विदेश विभाग प्रमुख भएको हैसियतले नेपालले केही सीमाविद् र पूर्वराजदूतसँग छलफल गर्नुभएको हो’, नेपालनिकट स्रोतल भन्यो। उक्त स्रोतका अनुसार प्रधानमन्त्रीले विशेष दूतका रूपमा आफूलाई प्रस्ताव गरेपछि नेपालले पार्टीका नेताहरूसँग पनि छलफल गरेका थिए। पार्टी नेताहरूसँगको छलफलमा सरकारका तर्फबाट सचिवस्तरीय बैठक प्रस्ताव गरिएको र ‘ट्र्याक टु’ अन्तर्गत पनि छलफल गर्न सकिने विषय उठेको जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले पनि प्रयास गरिरहेको जानकारी बताएका थिए। त्यति बेला उनले सचिवस्तरीय बैठकका बारेमा भारतको जवाफ पर्खेको बताएका थिए। ‘प्रधानमन्त्री स्वास्थ्यउपचारपछि आराम गरिरहेकाले कुनै प्रक्रिया अघि बढेको छैन। नेपालका प्रधानमन्त्री र उनका भारतीय समकक्षीबीच कुराकानी हुनासाथ यो विषय अघि बढ्नेछ’, नेकपा स्रोतले भन्यो।

गत मंसिर १८ गते नेकपाको सचिवालय बैठकमा नेता नेपालले आफूलाई प्रधानमन्त्रीले विशेष दूतका रूपमा भारत जान आग्रह गरेको बताएका थिए। त्यस बेला प्रधानमन्त्रीको विशेष दूत पठाउने चाहना भएको तर प्रधानमन्त्रीकै फोन सम्पर्क हुन नसेककाले रोकिएको जानकारी उनले गराएका थिए। बैठकमा यो विषयमा पार्टीभित्र पनि छलफल हुनुपर्ने कुरा उठेको थियो। सोमबार (आज) बस्ने सचिवालय बैठकमा पनि यो विषयले प्रवेश पाउने बताइएको छ। बैठक बोलाउने विषयमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीसँग आइतबार छलफल गरेका थिए। सोमबार सचिवालयको बैठक राख्ने विषयमा दाहालले सचिवालयका सबै सदस्यसँग छुट्टाछुट्टै परामर्श गरेका थिए। आइतबार बिहान पार्टीका विदेश विभाग प्रमुख नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग परामर्श गरेपछि दाहालले दिउँसो प्रधानमन्त्री ओलीलाई भेटेका थिए। ओली–दाहाल भेटमा सचिवालय बैठकबाट नेपाल–भारत सीमा विवादको विषयमा पार्टीको आधिकारिक धारणा तय गर्ने, ट्र्याक टुअन्तर्गत विशेष दूत पठाउने कि नपठाउने, स्थायी कमिटीको बैठक राख्ने कि नराख्नेलगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०७६ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App