२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

समृद्ध नेपालको सारथि बन्न सक्छ बंगलादेश

राष्ट्रपति विद्यादेवी भण्डारी बंगालादेशी समकक्षी मोहम्मद अब्दुल हमिदलाई स्वागत गर्दै। फाइल तस्बिरः नागरिक

काठमाडौं – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण सकेर शुक्रबार स्वदेश फर्किए। उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए। उनले नेपाल बसाइका क्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेतासँग भेट गरे। दुई पक्षीय भेटमा दुई मुलुकबीचको सम्बन्धलाई थप सुधार गर्ने, व्यापार, पर्यटन, लगानी, ऊर्जा र जलवायु परिवर्तनलगायत क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ। दुई मुलुकबीच दुई पक्षीय चासोका विषयमा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा समेत सहकार्य गर्ने सहमति भएको छ। नेपाल बसाइका क्रममा राष्ट्रपति हमिदले पोखरालगायत विभिन्न पर्यटकीय क्षेत्र र काठमाडौं र भक्तपुरका ऐतिहासिक र पुरातात्विक महत्व बोकेका क्षेत्रको समेत भ्रमण गरे।

दूरीका हिसाबले नजिक रहेको मित्रराष्ट्र बंगलादेश नेपालका लागि विभिन्न कारणले महत्वपूर्ण रहेको जानकारहरू बताउँछन्। बंगलादेशका लागि निवर्तमान राजदूत डा. चोपलाल भुसाल नेपालले बंगलादेशसँग पारवहन, ऊर्जा, व्यापार र पर्यटनका क्षेत्रमा सहकार्य गर्न सके त्यसले नेपालको अर्थतन्त्रमा सुधार गर्न मद्दत पुग्ने उल्लेख गर्छन्। उनका अनुसार प्रधानमन्त्री ओलीले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको सपनालाई पूरा गर्न बंगलादेशसँगको सहकार्यले मद्दत पु-याउँछ। ‘पारवहन, ऊर्जा, व्यापार र पर्यटनका क्षेत्रमा बंगलादेशसँगको सहकार्य नेपालको अर्थतन्त्रमा राम्रो सुधार आउन सक्छ,’ उनी भन्छन्, ‘बंगलादेश समृद्ध नेपालको सारथि बन्न सक्छ।’ लामो समयपछि बंगलादेशका तर्फबाट भएको उच्चस्तरीय भ्रमणले त्यो सम्भावनालाई अझ बलियो बनाएको उनको भनाइ छ।

नेपालले सहज पारवहनका लागि बंगलादेशको बन्दरगाह प्रयोग गर्न सकिने भुसाल बताउँछन्। उनका अनुसार बंगलादेशसँग यस विषयमा पहिले नै सहमतिसमेत भइसकेको छ। फेरि नयाँ सहमति गरेर बंगलादेशका बन्दरगाहलाई वैकल्पिक रूपमा प्रयोग गर्न सके त्यसबाट नेपालले फाइदा लिन सक्ने उनी बताउँछन्। ‘बंगलादेशलाई अहिले ठूलो मात्रामा स्वच्छ ऊर्जा आवश्यक छ,’ भुसाल भन्छन्, ‘नेपालले उत्पादन गरेको जलविद्युत् बंगलादेश निर्यात गरेर पनि फाइदा लिन सक्छ।’ बंगलादेश नेपालको ऊर्जा खरिद गर्न र ऊर्जामा लगानी गर्नसमेत तयार रहेको र त्यसका लागि नेपालबाट पहल हुनु आवश्यक रहेको उनको भनाइ छ। बंगलादेश नेपालको निर्यात व्यापारका लागि पनि सहज गन्तव्य रहेको भुसाल बताउँछन्। ‘नेपाली वस्तुको गुणस्तर र पर्याप्त उत्पादनको अभावले निर्यात फस्टाउन सकेको छैन,’ उनी भन्छन्, ‘त्यसलाई सुधार्न सके बंगलादेश नेपालका लागि महत्वपूर्ण व्यापार साझेदार हुनेछ।’ उनका अनुसार बंगलादेशीहरूको प्रतिव्यक्ति आम्दानी बढिरहेकाले नेपालको पर्यटकीय क्षेत्रमा उनीहरूलाई भित्र्याउँदा त्यसबाट पर्यटन उद्योगलाई सहयोग पुग्छ। बंगलादेशसँग शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा पनि विगतदेखि नै सहकार्य हुँदै आएकोमा यसलाई अझ नयाँ ढंगले अघि बढाउन सके नेपाललाई फाइदा हुन्छ। बंगलादेशी नेतृत्व नेपालप्रति निकै नै सकारात्मक रहेकाले दुई मुलुकबीचको साझेदारी फलदायी हुने उनको तर्क छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल नेपाल र बंगलादेशबीच लामो समयपछि भएको उच्चस्तरीय भ्रमणले सम्भावनाका नयाँ ढोकाहरू खोलेको बताउँछन्। बंगलादेश नेपालको पारवहन र व्यापारमा सझै सकारात्मक रहेको भन्दै उनले यस किसिमको भ्रमणले सम्बन्धमा थप प्रगाढता आउने दाबी गर्छन्। उनी राष्ट्रपति हमिदको भ्रमणले दुई मुलुकबीचको सम्बन्ध र साझेदारी नयाँ ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्छन्। ‘सबै कुरा भ्रमणका बेला नै भइहाल्छ भन्ने होइन तर यो भ्रमणले दुई मुलुकबीचमा सम्भावनाका धेरै बाटाहरू खुलाएको छ,’ पौड्यालले भने। बंगलादेशी राष्ट्रपतिको भ्रमण बहुआयामिक हिसाबले महत्वपूर्ण रहेको उनको तर्क छ।

प्रकाशित: ३० कार्तिक २०७६ ०१:०८ शनिबार

समृद्ध_नेपाल सारथि बंगलादेश