१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लिच्छविकालमा सुरु भएको नेपाल संवत्, पृथ्वीनारायण शाहले दिए राष्ट्रिय मान्यता

काठमाडौं– नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।
   
गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। 
  
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रियमान्यता पाउने घोषणा गरेका थिए। कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुवात् गर्ने परम्परासमेत काठमाडौँमा अझै छ। रासस

प्रकाशित: १२ कार्तिक २०७६ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App