१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

तरुण दलमा विवाद चुलियो, अध्यक्ष र महासचिवका आ-आफ्नै शैली

काठमाडौं- तरुण दलमा विवाद चुलिँदै गएको छ। अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एक अर्काका निर्णयका विरुद्ध वक्तव्यवाजी गर्न थालेपछि संगठनको विवाद छताछुल्ल भएको हो।

महासचिव शाही संगठनले भ्रष्टाचारविरुद्ध अभियान चलाउनु पर्ने भन्दै आएका छन्। उनको नेतृत्वमा भ्रष्टाचरविरुद्ध विभिन्न कार्यक्रम पनि आयोजना भए। तर यो अभियान संगठनको निर्णय विना अध्यक्षद्वारा स्थगित गरेको भन्दै उनी असन्तुष्ट रहँदै आएका छन्। बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् भने शाही वरिष्ठ नेता रामचन्द्र पौडेल निकट।

विपि जयन्तीको दिनदेखि कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गरेको छ। तर तरुणदलका पदाधिकारी भने यसमा पनि दुई किनारमा देखिएका छन्। अध्यक्ष बस्नेत र महासचिव शाहीका दुई फरक परिपत्र कार्यकर्तामाझ पुगेका छन्। बस्नेतले भदौ २० गते जारी गरेको परिपत्रमा जागरण अभियान सफल बनाउन भनिएको छ भने शाहीले भदौ २२ गते जारी गरेको परिपत्रमा त्यसको उल्लेख छैन। महासचिवलाई बाइपास गरेर अध्यक्ष हिँड्न खोजेपछि आफुले भ्रष्टाचारको भण्डाफोर अभियान सञ्चालनका लागि जिल्लाहरुलाई परिपत्र गरेको शाहीको भनाई छ। संगठनमा पदाधिकारी चयन भएर कार्यकाल सकिन लाग्दासम्म पनि केन्द्रीय समितिलाई चार जनामा सिमित राख्दा संगठनमा गति पैदा हुन नसकेको महासचिव शाहीको भनाई छ। तरुणदलको तीन वर्षे कार्यकाल आगामी मंसिर १ देखि सकिँदैछ। संगठन भित्र जागरण पैदा गर्न जरुरी भएको शाहीले बताउँदै आएका छन्।

विपि जयन्तीको दिन महासचिव शाहीले तरुणदल जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका उपाध्यक्ष सगुन श्रेष्ठको कारबाही फुकुवा भएको पत्र पठाए। कारबाही भएको भन्ने भ्रामक समाचारप्रति तरुणदल केन्द्रीय समितिको ध्यानाकर्षण भएको उनको पत्रमा उल्लेख छ। यस्तै सोही दिन शाहीले तरुणदल सप्तरीको अध्यक्षमा सीता प्रसाद यादवलाई तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न भन्दै अध्यक्षको जिम्मेवारी दिएको पत्र पठाए। तर अध्यक्ष बस्नेतले महासचिवका दुवै निर्णय खारेज गरेको बताए। उनले सगुनको कारबाही यथावत रहेको र सप्तरीमा कसैलाई जिम्मेवारी नदिएको विज्ञप्ति जारी गरेका छन्। 'संगठनका लाखौं साथीहरुमा भ्रम र दुविधा सृजना गर्ने दुषित मनसायले आफ्नो पदीय मर्यादालाई समेत कुल्चेरै दलका महासचिव भुपेन्द्र जंग शाहीले विधान, विधि र प्रक्रिया एवं सिद्धान्त र आदर्श विपरीत गई गरेका पत्राचार एवं कार्यहरु अवैधानिक भएको हुँदा सम्वन्धित व्यक्ति र दलका सम्पूर्ण साथीहरुलाई भ्रम र दुविधामा नपर्न यो सूचना मार्फत जानकारी गराउँदै दलका  महासचिव भुपेन्द्र जंग शाहीलाई आफ्नो पदीय जिम्मेवारीको परिधीमा रहन र संगठनको हित विपरित अशिष्ठ व्यवहार र क्रियाकलाप नगर्न यसै सूचना मार्फत सचेत गराईन्छ,' बस्नेतले वुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तरुण दलको केन्द्रीय कार्यसमितिमा जम्मा चार जना पदाधिकारी रहेका छन्। संगठनको कार्यावधी सकिनै लाग्दा समेत केन्द्रीय समिति विस्तार हुन सकेन। अध्यक्षमा बस्नेतलाई, महासचिवमा शाहीलाई, उपाध्यक्षमा उत्तम चापागाईंलाई र कोषाध्यक्षमा विद्वान गुरुङबाहेक केन्द्रीय समिति खाली रहे पनि विवाद भने चुलिँदै आएको छ। संगठनको कार्यकाल सकिनै लाग्दा तरुणदल भित्रको विवाद छताछुल्ल भएको हो।

 

प्रकाशित: २५ भाद्र २०७६ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App