३ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस जनताको प्रिय पार्टी बन्नेछः दाहाल

भैरहवा– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई भैरहवामा प्रशिक्षण दिइएको छ।  प्रदेश ५ का १२ वटै जिल्लाका ४ सय जना महाधिवेशन प्रतिनिधिलाई भैरहवास्थित पार्टी कार्यालयमा सोमबार र मंगलबार प्रशिक्षण दिइएको हो।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी महाधिवेशन, उपनिर्वाचन र आगामी निर्वाचनलाई केन्द्रित गरेर महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिएको छ। सहभागीहरुलाई कांग्रेसको इतिहास, वर्तमान बाम सरकारको कमजोरी, असल नागरिक बन्ने अभियान, कांग्रेससंग नागरिक र नागरिकसंग कांग्रेसका विषयमा प्रशिक्षण दिइएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले बताए।

कांग्रेसले अहिले सम्म आफ्नो नेतृत्वमा गरेका तथा भएका सामाजिक, सांस्कृतिक र राजनीतिक  आन्दोलनको विश्लेषण गर्दै प्रशिक्षण दिइएको छ जसले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई तेजिलो बनाएको उनले बताए। आगामी दिनमा नेपाली कांग्रेस र कांग्रेसको सिद्धान्त अझै चम्किने उल्लेख गर्दै प्रशिक्षणले नेपाली कांग्रेस भनेको एकदमै सफा खरानी भित्र राम्ररी बोलिरहेको कोइला जस्तै पार्टी हो, यो प्रशिक्षणले खरानी पन्छाउँछ र ज्वाला प्रस्फुटन गराउने काम गर्ने उनले उल्लेख गरे।

प्रशिक्षणले प्रदेश ५ मा नेपाली कांग्रेस जनताको अत्यन्तै प्रिय पार्टी बन्नेछ भने आगामी सम्पुर्ण निर्वाचनमा सबैभन्दा ठुलो दल बन्ने पक्का छ, दाहालले भने। उनले सातवटै प्रदेशमा आयोजना गरिएको प्रशिक्षणले नेपाली कांग्रेसलाई फेरि उर्जाशिल बनाउनुका साथै पार्टीको अभियान गाँउगाँउ सम्म पुग्नेछ भने टोलटोलमा लहर ल्याउने बताए।

मुलत अंक गणितीय हार र सैद्धान्तिक विषयका विषयमा पनि प्रशिक्षणमा राम्रैसंग बहस तथा छलफल भएको प्रतिष्ठानका सदस्य प्रमोदहरी गुरागाईले उल्लेख गरे। उनका अनुसार प्रतिष्ठानले दिएको प्रशिक्षणपछि महाधिवेशन प्रतिनिधिले गाउँगाउँमा गएर आम नागरिकलाई कांग्रेसका सिद्धान्तका विषयमा बहस गर्न, केन्द्रिय नेतृत्वमा अगाडि आँखामा आँखा जुधाएर समसमायिक विषयमा बहस गर्न सक्ने, फरक विचारधारा भएका व्यक्तिसंग बहस गर्न सक्ने भएका छन्।  

यो प्रशिक्षणले नेकपाका कार्यकर्तासंग सत्ताको आडमा गरिएका असमाजिक कार्यको विरोध र प्रतिरोध गर्ने उर्जा दिएको प्रशिक्षणमा सहभागी महाधिवेशन प्रतिनिधि कमल प्रसाद भुसालले उल्लेख गरे। उनले आगामी दिनमा पार्टी कार्यकर्तालाई जागरुक बनाउदै कांग्रेसीजनलाई टोलटोलबाट जुरमुराउने उल्लेख गरे।

दुई दिनसम्म चलेको प्रशिक्षणमा डा. जगदिश चन्द्र पोखरेल, डा. गोबिन्द पोखरेल, डा. आरजु देउवा, केशव निरौला, पुरुषोत्तम दाहाल, राजु नेपाल लगायतले पाँच वटा चरणमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा १२ जिल्लाका ४ सय जना महाधिवेशन प्रतिनिधि सहभागी थिए। 

प्रकाशित: ३ भाद्र २०७६ १६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App