१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गौतमबुद्ध विमानस्थलको काम डिसेम्बरभित्रै सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन

विमानस्थलको निरीक्षण गर्दै पर्यटनमन्त्रीसहितको टोली। तस्बिरः नागरिक

भैरहवा– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको निरीक्षण गरेका छन्।

पदभारपछिको पहिलो निरीक्षणमा निस्केका मन्त्री भट्टराईले देशकै पहिलो प्राथमिकतामा रहेको भैरहवास्थित निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको मन्त्रालयका टिमसहित निरीक्षण गरेका हुन्।

निरीक्षण गर्दै मन्त्रीले मुलुकको प्रतिष्ठासँग जोडिएको यो अन्तर्राष्ट्रिय विमानस्थल डिसेम्बरभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले आइसिपी दुईस्तरकै काम तोकिएकै समयमा सम्पन्न गर्न कहाँकहाँ अवरोध हुन्छ, कुन–कुन निकायले के–के गर्नु पर्छ, सबैको बुँदागत विवरणको माग गरे। ‘मार्चभित्र एडिबीले कहाँकहाँ भुक्तानी दिनुपर्ने हो दिनका लागि एडिबीको कन्ट्री डाइरेक्टरसँग कुरा भइसकेको छ,’ उनले भने, ‘विमानस्थलको काम कुनै पनि हालतमा डिसेम्बरभित्रै गर्नुपर्छ जनवरी १ पनि मान्य हुँदैन।’

आयोजना प्रमुुख प्रवेश अधिकारीलाई आयोजना समयमा नै सम्पन्न गर्न आवश्यक कच्चा पदार्थ सकेसम्म रुपन्देहीबाटनै ल्याई युद्धस्तरमा काम गर्न उनले आग्रह गरे।

विमानस्थल सञ्चालनका लागि मन्त्रिपरिषद् बैठकले जिटुजी मोडेलमा सञ्चालनमा ल्याउने निर्णय गरे पनि यस प्रणलीमा कोही नआए क्यान आफैंले वैकल्पिक व्यवस्था गरेको बताए। विमानस्थल र लुम्बिनी सर्किटको निरीक्षण र अवलोकनमा निस्केका मन्त्रीसहित मन्त्रालयको टिमले काठमाडौ गएलगत्तै पहिलो काम विमानस्थलमा भएको पूर्वाधार विद्युत्, सडकलगायतका समस्याका सरोकारवाला मन्त्रालय र निकायका निर्देशकहरूसँग छलफल गरी काम प्रक्रिया अगाडि बढाइने बताए।

उनले अहिलेको टर्मिनल भवन  र  विमान पार्किङ क्षेत्रलाई अझै विस्तार गर्नुपर्ने भए पनि विमानस्थल सञ्चालन भएपछि दोस्रो चरणमा अहिले नभएको कामहरू र एरोब्रिजसहितको आगामी आवश्यकताका काम गर्ने बताए।

विमानस्थल समग्र प्रगतिको बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारी र आयोजना प्रमुख प्रवेश अधिकारीले ‘ब्रिफ’ गरेका थिए। समग्रमा विमानस्थलको ७४ प्रतिशत भौतिक प्रगति, साढे ६ प्रतिशत इलेक्ट्रो मेकानिकल र करिब ५३ प्रतिशत आर्थिक प्रगति भएको बताए। सन् २०१९ भित्रमा निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय उडान परीक्षण गरी सञ्चालनमा ल्याउन सकिने उनीहरुले जानकारी दिए।

‘अहिले भौतिक संरचनाहरुको अन्तिम चरणमा छ। विमानस्थलको मुख्य धावनमार्गको र टयाक्सी वे जोड्ने काम भइसकेको छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘त्यस्तै विमानस्थलको एपरोन (विमान पार्किङ) को काम सम्पन्न भइसकेको छ, विमानस्थलको टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावरको काम अन्तिम चरणमा आइसकेको छ, विमानस्थलको स्ट्रक्चरल कम्पोनेन्टमध्येको आगमन र प्रस्थान तर्फका सबै संरचना तयार भइसकेको छ, छाना फिटिङको काम भइरहेको छ।’

भौतिक कामसँगै  आइसिपी २ का प्रविधिक कामहरू पनि भइरहेका छन्। एयर ट्राफिक कन्ट्रोलका लागि आवश्यक पर्ने उपकरणको आयात तथा जडानको काम अघि बढेको छ। अष्ट्रेलिया, यूके, थाइल्यान्डलगायतका देशमा कम्युनिकेसन र नेभिगेसनका कामहरू भइरहेको र रनवेको मार्किङको काम भइरहेको अधिकारीले बताए।

प्रकाशित: २३ श्रावण २०७६ १०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App