४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद सूचारु गर्नेबारे दलहरुबीच सहमति जुटेन, सत्ता र प्रतिपक्षको आआफ्नै अडान

काठमाडौं– अवरुद्ध संसद सूचारु गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिप्रक्षी दलबीच सहमति जुट्न नसकेपछि विकल्पको खोजीमा पार्टीभित्र आन्तरिक छलफल गर्ने भएका छन्। 

सभामुख कृष्ण बहादुर महराले विहीबार बोलाएको सर्वदलीय बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलहरु आ आफ्नै अडानमा कायम रहेपछि विकल्पबारे दलहरुले आन्तरिक छलफल गर्ने भएका हुन्। लामो समयसम्म बैठक अवरुद्ध हुँदा जनतामा गलत सन्देश जाने भन्दै सत्ता पक्षले संसद संचालन गरि प्रतिपक्षी दलको मागबारे पनि छलफल गर्दे जाने प्रस्ताव अघि सारेको थियो। तर यस प्रस्तावमा प्रतिपक्षी दल सहमत नभएपछि थप छलफलका लागि संसद बैठक ४ दिन सम्मका लागि स्थगित गर्ने निर्णयमा पुगेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आफूहरुको माग सम्बोधन गर्न सत्तापक्ष तयार नभए पनि छलफल सकारात्मक भएको प्रतिक्रिया दिइन्।

सर्वदलीय छलफलमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सदन सूचारु गराउन सबै दल सहमत भएको र प्रतिपक्षी दलको मागका सम्बोधन तथा सदन सूचारुका विकल्पबारे थप छलफल गर्ने सहमति भएको जानकारी दिए।

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सर्लाही घटनाबारे संसदीय छानविन समिति गठन गर्नुपर्ने पक्षमा नै आफुहरु रहेको बताए।

नेकपाका सांसद भीम रावले देशप्रति जिम्मेवार भएर समस्याको समाधान खोजिनुपर्ने बताए।

त्यसैगरी नेकपाका सांसद ह्दयेश त्रिपाठीले संबैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगले सर्लाही घटनाबारे छानविन गरिरहेकाले संसदले छुट्टै समिति बनाउन आवश्यक नपर्ने तर्क गरे।

नेत्रविक्रम चन्द विप्लब समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले सदन अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित: १६ श्रावण २०७६ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App