७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

चक्का जाममा उत्रिएका दुई वडाध्यक्ष सहित ६ जना पक्राउ

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगरसभाप्रति असहमती जनाउँदै चक्का जाममा उत्रिएका दुई वडाध्यक्ष सहित ६ जना पक्राउ परेका छन्। नेकपा नगर कमिटिले बुधबार बिहान मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसीमा आयोजना गरेको चक्का जाममा उत्रिएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई, महादेवस्थानकै वडा सदस्य निरजमानसिंह बस्नेत, नेकपा नगर कमिटीका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर कमिटीकै सचिवालय सदस्य सर्वधन बस्नेत, महादेवस्थान वडा कमिटी सचिव धनकुमार भुजेल पक्राउ परेका हुन्।

नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटीढंगले चौथो नगरसभा गरिएको विरोधमा चक्का जाममा उत्रिएका जनप्रतिनिधि तथा नेतालाई प्रहरीले पक्राउ गरेको नेकपाका जिल्ला कमिटी सदस्य राजुबिक्रम चाम्लिङले जानकारी दिए। प्रहरीले पनि वडाध्यक्ष सहित ६ जना पक्राउ गरिएको जनाएको छ। नगरपालिकाभित्रको आन्तरिक समस्यालाई लिएर सडकमा अवरोध पु¥याएकाले पक्राउ गरिएको डिएसपी वामदेब गौतमले बताए। नेकपाका नेता तथा कार्यकर्ताले बिहान ६ बजेदेखि एक घण्टाका लागि चक्का जाम आव्हान गरेका थिए।

बजेट बढेर आए पनि वडालाई अघिल्लो वर्षको तुलनामा कम बजेटको सिलिङ दिएको तथा टोलबस्तीबाट वडाले प्राथमिकीकरण गर्दै ल्याइएका वडास्तरिय योजनालाई लत्याइएको भन्दै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडाध्यक्ष हरिकुमार खड्का, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका वडाध्यक्ष भलाराज राई, दुर्छिमका वडाध्यक्ष तिवारी र महादेवस्थानका वडाध्यक्ष राईले नगरसभा बहिस्कारको घोषणा गरेका थिए।

नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४÷०७५ को लेखा परिक्षण प्रतिबेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगती समिक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपार्टी अन्त्या गर्न लगायतका माग राखे पनि बेवास्ता गरिएको विरोधमा मंगलबार नेकपाले नगरको कार्यालयमा धर्ना दिएको थियो।

सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिइ कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजस्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको नेकपा नगर कमिटि अध्यक्ष सुरेन्द्र राईले आरोप लगाए। हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले भने आन्दोलनको अर्थ नभएको बताएका छन्। ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा मेयर, उपमेयर सहित ७ वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका हुन्।

प्रकाशित: ८ श्रावण २०७६ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App