नेकपा दाेलखा अध्यक्षले भनेः 'प्रदेश सरकार मुर्दावाद'
दोलखा– प्रदेश ३ सरकारमार्फत् छनोट भएका ठूला योजना र करोडौंका बजेट मन्त्रीका जिल्लामा मात्र कुम्ल्याएर लगेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दोलखा अध्यक्ष ईश्वरचन्द्र पोखरेलले सामाजिक सञ्जालमा प्रदेश सरकारविरुद्ध कडा आक्रोश पोखे। उनी गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेश समिति अध्यक्ष हुन्।
शनिबार बेलुकी आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै पोखरेलले ‘कसले कार्बाही गर्ने हो, गरे हुन्छ, प्रदेश ३ सरकार मुर्दावाद’ भनेर कडा आक्रोश पोखे। यस्तै उनले अर्को स्टाटसमार्फत् समेत मन्त्रीहरुविरुद्ध आक्रोश पोखे, ‘दिमागको कति गरिब रहेछौं हामी, जहाँ मन्त्री त्यहाँ धेरै बजेट।' उनको स्टाटसमा विभिन्नखाले मिश्रित प्रतिक्रिया छन्।
पोखरेलको स्टाटस प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरुप्रति बुझिन्छ। मन्त्री नभएका जिल्लाहरुलाई बेवास्ता गरेर प्रदेशको बजेट मन्त्रीहरुको स्वार्थमा आफूखुसी कुम्ल्याएको भन्दै पोखरेल सार्वजनिकरुपमै प्रदेश सरकारको आलोचनामा उत्रिएका हुन्। यो वर्षको बजेटमा दोलखा, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा र सिन्धुली नसमेटिएकोमा उनको आक्रोश थियो।
उनले ३ नम्बर प्रदेश सरकारले ल्याएको बजेटले कार्यकर्ताको शिर उठ्न नसकेको आक्रोशसमेत फेसबुकमै पोखेका छन्। उनले ३ नम्बर प्रदेश सरकारका मन्त्रीहरुलाई 'दिमागको गरिब'समेत भनेका छन्। यस्तै उनले प्रदेश सरकारको रवैयाप्रति कडा आपत्तिसमेत जनाएका छन्।