१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रेस स्वतन्त्रता विरोधी कदम जारी राखे प्रतिकार

काठमाडौं- नागरिक अगुवा कृष्ण पहाडीले सरकारले प्रेस स्वतन्त्रता विरोधी कदम जारी राखे प्रतिकारमा हुने आन्दोलनले सरकार स्वयम् खतरामा पर्ने चेतावनी दिएका छन्।

नेपाल पत्रकार महासंघले शुक्रबार सञ्चारग्राममा गरेको अन्तरक्रियामा नागरिक अगुवा पहाडीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने हरकत कायमै रहिरहे त्यसपछि उत्पन्न परिस्थितिको सरकार स्वयम् जिम्मेवार हुनुपर्ने बताए। उनले प्रेस स्वतन्त्रता रक्षाका लागि महासंघको नेतृत्वमा हुने आन्दोलनले सरकार मात्रै नभई सरकारको नेतृत्व गरेको पार्टीलाई नै सिध्याउने दाबी गरे। उनले दुई तिहाईको बलमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक पास गर्ने प्रयास भएमा जेल भराउ अभियान संञ्चालन गर्न महासंघलाई सुझाव दिए।

महासंघको आन्दोलन चर्किदै जाँदा त्यसले सरकार विरोधी आन्दोलनको स्वरुप लिने उल्लेख गर्दै उनले राजनीतिलाई अपराधिकरण गर्ने र प्रेसको ढुकढुकी मास्ने प्रयत्न नगर्न सरकारलाई चेतावनी दिए।

उनले माफियाले गाँजेको सरकारले माफिया विरोधी समाचारमा नियन्त्रण गर्ने उद्देश्य साथ प्रेस स्वतन्त्रता विरोधी अभियान अन्तर्गत नै विधेयकहरु ल्याएको दाबी गरे।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले संविधानको दायरा नाघेर दुई तिहाईको बलमा विधेयक पास गर्ने काम गरियो भने पनि न्यायिक चुनौतिको बाटो खुल्ला नै रहने भएकाले सोही माध्यमबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक सुरक्षित गर्न सकिने बताए।

त्यसैगरी प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले सरकारका गलत काम प्रति कसैले प्रश्न गर्न नसकुँन् भन्ने गलत मनसाय साथ सरकारले प्रेस सम्बन्धी विधेयकहरु ल्याएको बताए। मिडिया, प्रेस, सामाजिक सञ्जाल र पत्रकारितालाई एउटै बास्केटमा राखेर समाजिक सञ्जाल र मिडियाका बारेमा सरकारले भ्रम छर्ने कम गरेको आरोप लगाए। उनले भने “सामाजिक सञ्जालमा भईरहेको विकृति ल्याएर पत्रकारिताको थाप्लोमा बजार्दा पत्रकारिता घाईते त अवश्य हुन्छ।”

महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल लगायत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकमा उल्लेखित प्रेस विरोधी प्रावधान हटाउने प्रतिवद्धता सत्तारुढ दलबाट आउनुपर्ने बताए।

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक ल्याएको भन्दै आन्दोलनमा उत्रिएको महासंघले तेश्रो चरणको आन्दोलन अन्र्तगत शुक्रबार सरोकारवालाहरुसंग छलफल गरेको हो।

प्रकाशित: २० असार २०७६ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App