७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

चीनद्वारा २ अर्ब ४० करोडको सैन्य सहयोग

काठमाडौं – चीनले नेपाली सेनाका लागि २ अर्ब ४० करोड रुपैयाँ बराबरको गैरघातक सैन्य सहायता उपलब्ध गराउने भएको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापासँग चीन सरकारले मानवीय सहायता तथा विपद् व्यवस्थापन, सैन्यसवारी साधन, उद्धार सामग्रीलगायत १ सय ५० मिलियन युआन (२ अर्ब ४० करोड रुपैयाँ) बराबरको सैन्य सहायता उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार सो सहायता छिट्टै नेपाल आइपुग्ने सेनाले जनाएको छ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्री, गौरवशमशेर राणा र छत्रमानसिंह गुरुङका पालामा पनि चीनले सेनाको क्षमता अभिवृद्धिका लागि गैरघातक सहायता उपलब्ध गराएको थियो। दुई वर्षअघि लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकका लागि पनि चीन सरकारले आम्र्ड पर्सनल क्यारिअर (एपीसी) लगायतका बख्तरबन्द गाडी अनुदान सहयोगमा उपलब्ध गराएको थियो। असार १ गतेबाट चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति थापाले बुधबार चिनियाँ रक्षा मन्त्रालयअन्तर्गतका सेन्ट्रल मिलिटरी कमिसनका चिफ अफ ज्वाइन्ट स्टाफ जनरल ली जुओचेङसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

भ्रमणकै क्रममा प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाका विभिन्न युनिटका साथै ग्रेटवालको पनि अवलोकन गरेको नेपाली सेनाले जनाएको छ। प्रधानसेनापति थापासहितको नेपाली प्रतिनिधिमण्डल शनिबार स्वदेश फिर्ता हुने तालिका छ।

प्रकाशित: ६ असार २०७६ ०१:४३ शुक्रबार

चीन सैन्य_सहयोग नेपाली_सेना