४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृह मन्त्रालयमा क्यामेरा निषेध

काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीमै बम बिस्फोट गराएपछि सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ। विप्लव नेतृत्वको नेकपा माओवादीले वैशाख १२ गते सुकेधारा र अनामनगरमा टाइम बम विस्फोट गराएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कर्मचारीदेखि सर्वसाधारणसम्मलाई कडाइ गरेको हो।

जेठ १२ गते सिंहदरबार नजिकै अनामनगर र सुकेधारामा विप्लव नेतृत्वको नेकपाले राखेको टाइम बम विस्फोटमा परी ३ जनााके मृत्यु भएको थियो। त्यसपछि गृह मन्त्रालयका केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको थियो। सिंहदरबारभित्र सरकारसँग असन्तुष्ट पक्षले अप्रिय घटना घटाउन सक्ने उच्च जोखिम औंल्याउँदै त्यसलाई नियन्त्रण गर्न सुरक्षा जाँचमा विशेष सतर्कता अपनाइएको गृह मन्त्रालय स्रोतको दाबी छ।

चारवटै सुरक्षा निकायका अधिकारीले पनि गृहमन्त्री रामबहादुर थापासमक्ष विप्लव नेतृत्वको नेकपाले सिंहदरबारनजिकै बम विस्फोट गराउँदा त्यो जोखिमभित्रै आउनसक्ने खतरा औंल्याएका थिए। त्यसपछि गृह मन्त्रालयले प्रवेशद्वारमा विद्युतीय जाँच उपकरणसमेत जडान गर्ने निर्णय गरिसकेको छ। त्यसका लागि ‘सप्लाइ–डेलिभरी एण्ड इन्टलेसन अफ ब्यागेज स्क्यानर’ मेसिन खरिद प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयले जानकारी दिएको छ।

सिंहदरबार नजिकै मानिसको मृत्यु हुनेगरी बम विस्फोट भएपछि सुुरक्षा सतर्कता बढाउँन प्रवेशमा कडाइ गरिएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिए। सिंहदरबारमा कडाइसँगै गृह मन्त्रालयमा क्यामेरा लैजान पनि निषेध गरिएको छ। गृहका अधिकारीको भनाइ पुष्टि गर्दै बिहीबार सिंहदरबार दक्षिण प्रवेशद्वारमा खटिएका सुरक्षाकर्मीले ‘माथिको आदेश छ’ भन्दै कर्मचारी तथा सर्वसाधारलाई अघिल्ला दिनमा भन्दा केही कडा खानतलासी गरिएको स्वीकारे। खानतलासीकै क्रममा बिहीबार सिंहदरबार दक्षिणगेटबाट प्रवेश गर्ने सवारीको लाइन माइतीघरसम्म पुगेको थियो। सवारी जाम र भीड अनियन्त्रित भएपछि थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

‘३ दिन भयो, अरु दिनभन्दा बढी नै सुरक्षा खानतलासी गरिरहेका छौं,’ सिंहदरबार सुरक्षा प्रहरी गणअन्तर्गतका एक प्रहरीले भने, ‘हामी त आदेश पालना गर्ने मात्रै हो हजुर।’

प्रकाशित: ३१ जेष्ठ २०७६ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App