१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दाहालको सहयोग निरन्तर

प्रत्रुस आफ्नी आमा र बहिनीसँग। तस्बिर: सविता/नागरिक

चितवन - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल गत वर्षको वैशाख ५ गते दुई बालकको अभिभावक बनेका थिए। उनले मेघौलीको मुसहर समुदायका दुई बालकको अभिभावकत्व ग्रहण गरी उनीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर २८ मा रहेको साझापुर माध्यमिक विद्यालयमा भर्ना गराएका थिए। गत वर्षको भर्ना अभियानमा दाहालले मेघौलीका प्रत्रुसलाई शिशु कक्षामा र अरुणलाई कक्षा १ मा भर्ना गराएका थिए। अहिले प्रत्रुस युकेजीमा र अरुण कक्षा २ मा पढ्छन्।
दाहालले अभिभावकत्व लिँदाका बखत प्रत्रुसको खाजा, पोसाक, किताब र कापीमा सहयोग गर्ने भनेका थिए। त्यसै अनुसार दाहालबाट प्रत्रुसलाई हरेक दिन ३० रुपैयाँबराबरको खाजा र आवश्यक स्टेसनरी सहयोग भइरहेको उनकी आमा लक्ष्मी मुसहरले बताइन्। प्रत्रुसका बाबु सुरज ज्यालामजदुरी गर्छन्।

शिक्षकले प्रत्रुसको पढाइ राम्रो रहेको बताएका छन्। शिक्षकले घरमा पढाउन भने पनि प्रत्रुसका बुवा र आफू दुवै अनपढ भएकाले घरमा पढाउन नसकिएको लक्ष्मीले बताइन्। उनले छोरालाई घरमा पढ्न भने प्रेरित गरिरहन्छिन्। प्रत्रुसलाई पढाएर जागिरे बनाउने उनको इच्छा छ।

अध्यक्ष दाहालले अभिभावकत्व लिएका अरुणको परिवारको अवस्था प्रत्रुसको भन्दा पनि कमजोर छ। अरुणको परिवार ऐलानी जग्गामा बसोबास गर्छ। अरुणको घरमा उनीसहित हजुरआमा, बुबा, दिदी र भाइ छन्। नातिनातिना स्कुल गए पनि घरको अवस्था राम्रो नभएको हजुरआमा बर्सतिया मुसहर बताउँछिन्।

एककोठे खरको झुप्रोको छानो चुहिने छ। पानी पर्दा नातिनातिनाका किताबकापी र कपडा रुझ्नबाट जोगाउन मुस्किल पर्ने उनले बताइन्। ‘आज पानी परेर कपडा रुझ्यो, बाबुनानी स्कुल आउन पाएनन् भन्दै हजुरआमा आइपुग्छिन्’, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लालमाया अधिकारीले भनिन्, ‘बस्ने घरै भएन, घर बनाइदिन भनिदिनुप¥यो भन्छिन्।’ दाहालले अरुणलाई पनि निरन्तर सहयोग उपलब्ध गराएका छन्। अरुणकी दिदी अरुणा र भाइ सरुण पनि उनी पढ्ने विद्यालयमै पढ्छन्। अरुणलाई आउने सहयोगबाटै तीनजनालाई स्टेसनरी मिलाएर दिने गरेको अध्यक्ष अधिकारीले बताइन्।

प्रकाशित: २५ जेष्ठ २०७६ ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App