रोल्पा- सँधै फरक धारमा रहने थवाङीहरुले २०६४ को संविधान सभा निर्वाचनमा ३ मत वाहेक सवै प्रचण्डलाई दिएका थिए। २०७० सालको संविधान सभामा एकमत पनि खसालेनन्।
२०३६ सालमा सतप्रतिशत मत वहुदललाई खसालेका उनिहरुले २०१५ सालको निर्वाचनमा सवै मत थवाङकै उम्मेदवार वनेका खगुलाल गुरुङलाई दिएका थिए। २०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाङमा २०५६ मा हेलिकप्टरमा पुगेका २ जनाले मात्र मतदान गरेका थिए। २०५४ मा चुनावै भएन। अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो। २०३९ सालको स्थानीय चुनावमा बिरोधमा कोहि उठ्न खोज्दा समर्थक र प्रस्तावक नपाएपछि अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्पर्धामा आएका थिए।
सामूहिक निर्णयमा सधै एक रहने थवाङ गत स्थानीय तह निर्बाचन यता बिभाजित देखियो। थवाङीहरुको भाषामा सरकारी नेकपा र बिद्रोहि नेकपाको टकराब जन्मिएको त्यो चुनाब पछि यो गाउँ दुई कित्तामा रहेको छ। प्रत्यक्ष निर्बाचनमा भाग लिएका कतिपयहरु यतिबेला सन्तुष्ट भने छैनन्। ‘चुनाबमा भाग लिनु र नलिनुमा खासै भिन्नता भएन। अहिले पनि उहि बिगतका जनप्रतिनिधिको जस्तै ब्यबहार र रवैया जस्तै छ। आखिर गणतन्त्र पछिको चुनाबले पनि दलाल र ठेकेदारलाई नै पदमा बसाल्यो।’ गत स्थानीय तह निर्बाचनमा थवाङ गाउँपालिका अध्यक्षमा उमेद्वार भएका स्वतन्त्र प्रतिस्पर्धी तथा विप्लव नेकपाका जिल्ला स्तरीय नेता अमित घर्तीले भने ‘गाउँमा दरवार आएको थाहा भएन सिंह भने प्रशस्तै छन। उहिले सिंहदरवारबाट मात्र हुने भ्रष्टाचार ७ सय ५३ ठाउँबाट हुन थालेको छ।’ अमितका अनुसार यतिबेला थवाङीहरु मतदान गरेकोमा पछुताई रहेका छन्।
थवाङीहरुको भाषामा यहाँका स्थानीयले समान अधिकार सहभागिता त परै जावस आधारभूत आवश्यकताको पूर्ति समेत गर्न पाएनन्। हिजो राज्यले विभेद र सौतेलो व्यवहार गर्यो भनेर त्यसैको आडमा यहिबाट द्वन्द सुरु गरेको माओबादीले सवैलाई वन्दुक पड्काउन सिकायो। वन्दुक पड्काउनेहरु पटक पटक सत्तामा पुगे तर जन्म थलोलाई गर्व गर्न सक्ने केहि गरेन भन्छन थवाङीहरु।
‘त्यतिका लडियो। आफ्नो हात नै गयो तर खोई कसले के पायो। चुनाब पछि केहि हुन्छ कि भनेर आसै आसमा भोट हालियो तर गल्ती गरिएछ,’ युद्धताका मिठा मिठा धेरै आश्वासन सुनेका स्थानीय लबबहादुर रोका ‘क. स्याउला’ले भने ‘लहलहैमा लागेर भएभरको सम्पत्ती कम्युनमा समेत गाभे तर आज एक्लै छु। आखिरमा यस्तै हुन्छ भन्ने थाहा पाएको भए आफ्नो मेलो गरेर खाईन्थ्यो। हुँदा खादाको हात किन गुमाउनु पर्दथ्र्यो। हिजो १० बर्ष मर्ने ठाउँमा हामी थापियौ तर आज हाम्रो कुनै मूल्याङ्कन नै छैन।’
थवाङीलाई सपना बेचेर सहर छिरेका माओवादीको जीवन यापन नजिकैबाट नियालेकाहरु अचम्मित छन। आलिसान महल, चिल्ला गाडि, आफैले कहे जस्ता सुकिला मुकिला भएपछि त्याग–लगानी आज थबाङीहरुलाई अभिसाप भएको छ। सँगै खाने, सँगै वस्ने, साम्यवादको सुरुवात गर्ने भन्दै कम्यूनको स्थापना गर्न लगाएर भएभरको सम्पति एउटैमा गाभ्न लगाइयो। आज त्यहि अभ्यासको विपरितमा नेताहरु देखा परे। ३१ वटा घरलाई एउटै ठाउँमा गाभेर जनकम्यून स्थापना गरियो। तर हाल ३/४ घर मात्र वाँकी छन। अझ अलगिने क्रम जारी छ। बरु एक्लै वसेको भए आज अलिकती भए पनि जायजेथा जोडिन्थ्यो भन्छन थवाङीहरु।
‘उहिले पो लडाई थियो। हामी र हाम्रा मान्छेको आवश्यकता थियो। नेताहरुलाई मर्न डर थियो अनि हामीलाई भिडाए। मर्ने मरिसके। टाठा बाठाहरु त्यहि मृत्युलाई टेकेर सत्तामा पुगिसके। अब हामी सबैलाई भुले।’ द्धन्द्धकालमा बुवा तेजमान घर्ती मगर 'दीर्घ'लाई गुमाएका थवाङका घाईते अपाङ्ग अजय घर्ती मगर भन्छन। ‘चुनाब त एउटा नाटक रैछ। बुवा बाचेको भए अहिले ठूलै नेता हुनुहुन्थ्यो होला। उहाँ बाच्दा सम्म सबै थियो तर उहाँको मृत्युसंगै सबै सकियो। आज कोहि कसैले के छ खबर पनि भनेर सोध्दैनन्।’
रोल्पाका पुराना र सबैले स्वीकार गरेका नेता दीर्घको परिवार अहिलेको अबस्थासंग असन्तुष्ट छ। आर्थिक अबस्थाले झन पछि झन कमजोर हुँदै गएको दीर्घका एक मात्र छोरा ३६ बर्षिय अजय आफु पनि द्धन्द्ध कालका घाईते हुन। एउटा हात काटिएका उनि आफु र आफु जस्तै अन्य सहिद परिवारको स्थिति अत्यन्त दयनिय रहेको बताउँछन्।
उहिलेका निर्बाचनहरुमा बहिस्कार वा एकैकित्ताको मतदान गरेका थवाङीहरु त्यो समयमा त्यहि ठिक रहेको भए पनि केहिले पछिल्लो समयका स्थानीय तह र प्रदेश, संघको निर्वाचनमा थवाङले सहभागिता जनाउनुलाई बुद्धिमता पूर्ण निर्णय भएको मान्छन। थवाङका स्थानीय अग्रज दिनेश रोका निर्बाचन पछि जनताले घर आगनबाट सेवा पाउन थालेको बताउँछन। ‘गाउँ गाउँमा सिंहदरवारको अनुभुति गर्न थालेका छन्। स्थानीयहरुले बजेट प्रतिको निगरानि बढेको छ। स्थानीय आवस्यकता र चाहाना अनुसार काम सुरु भएको छ।’ उनका अनुसार ‘जनप्रतिनिधि जनताको निगरानिमा भएकाले भ्रष्टाचार बढेको भन्ने मान्न सकिदैन। सोचे जस्तो नभए पनि समग्रमा थवाङीहरु मतदान गरेकोमा सन्तुष्ट छन।’ उनका अनुसार प्रतिपक्षको निगरानि झनै बढि छ।
प्रकाशित: १९ जेष्ठ २०७६ ११:०८ आइतबार