५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

‘जनता ओली सरकारबाट मुक्ति खोज्दैछन्’

नुवाकोट – नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले यो सरकारबाट जनताले मुक्ति खोज्न थालेको बताएका छन्। प्रेस युनियन नुवाकोटले शुक्रबार विदुरमा आयोजना गरेको पत्रकार भेटभाटमा सहमहामन्त्री महतले भने, ‘गफमात्र गर्ने यो सरकारबाट जनताले मुक्ति चाहेका छन्।’

जनता महँगी, कर र ब्याजदरले आक्रान्त भएको उनले बताए। ‘रोजगारी छैन। बिदेसिने युवा बढिरहेका छन्। सरकारले युवालाई देशमा रोजगारी दिने भनिरहन्छ तर सार्थकता मिलेको कुनै तथ्यांक छैन’, उनले थपे। देशमा कसरी लगानी बढाउने भन्नेमा सरकार अनभिज्ञ रहेको उनले बताए। महतले भने, ‘सरकार देशप्रति समर्पित र इमानदार छैन। सरकारसँग कुनै सीप पनि छैन। यसले गर्दा जनता निराश छन्। कम्युनिस्टलाई जिताएकोमा जनता पछुतो मान्दैछन्।’ उनले उद्योग व्यवसाय बढेर युवाले रोजगारी पाए मात्र देशमा समृद्धि भित्रिने बताए। सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारालाई कार्यान्वयन गर्न सरकारी पक्षबाट कुनै पहल नभएको उनले आरोप लगाए।

महतले बालुवाटार जग्गा, वाइडबडीजस्ता ठूला काण्डमा रातारात मिडिया प्रयोग गरेर कांग्रेसलाई फसाउन लागेको बताए। ‘हाम्रो पार्टीमा व्यक्तिवाद हाबी भइरहेको छ। एकअर्काबिच पोलापोल हुन्छ। तर सरकार पक्षीय दलहरु आफूलाई जोगाएर कसरी हामीलाई फसाउने भन्नेमा जाल बुन्न थालेका छन्,’ उनले भने, ‘नेपालको इतिहासमा नभएको कुरा भइरहेको छ। मिडियालाई प्रयोग गरेर आधारहीन कुरामा कांग्रेसलाई फसाइँदैछ। त्यसको हामीले प्रतिकार गर्नु आवश्यक छ।’

उनले कार्यकर्तालाई जिल्लाका स्थानीय सरकारले एकलौटी रुपमा नागरिक हितविपरीत काम गरेको पाइएमा भण्डाफोर गर्न आग्रह गरे। डा. महत युवाको नेतृत्व विकास र क्षमता विस्तारका लागि नेपाल जेसिजले आयोजना गरेको एरिया सी सम्मेलन उद्घाटन गर्न नुवाकोट आएका थिए।

प्रकाशित: २८ वैशाख २०७६ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App