१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विज्ञ भन्छन् - औचित्यहीन

काठमाडाैँ - प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि दक्षिणपूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्दैछन्। भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रका विज्ञले भने प्रश्न उठाएका छन्। नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध रहेका दुई मुलुकको भ्रमणबाट नेपाललाई खासै फाइदा नभए पनि प्रधानमन्त्रीले उच्च महत्व दिएको भन्दै विज्ञहरूले यसको औचित्यमाथि प्रश्न उठाएका हुन्।

‘राज्यकोषको ढुकुटी खर्च गरेर विदेश भ्रमण गर्दा मुलुकको कूटनीतिक महत्व र प्राथमिकताका विषयमा प्रस्ट हुनुपर्छ,’ पूर्वराजदूत एवं कूटनीतिक मामिलाका जानकार जयराज आचार्यले भने। जनताको करबाट खर्च गर्नुपर्ने भएकाले त्यसको औचित्य पुष्टि गर्नुपर्ने आचार्य बताउँछन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण महत्वपूर्ण रहेकाले त्यस्ता भ्रमणप्रति कसैले प्रश्न नउठाएको बताए। तर प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमण भने महत्वपूर्ण नभएको उनको भनाइ छ। लामो समयदेखि एउटै व्यक्तिले लामो समयसम्म तानाशाही व्यवस्था सञ्चालन गरिरहेको मुलुकमा नेपालका प्रधानमन्त्रीको भ्रमण हुनु राष्ट्रिय लज्जाको विषय भएको उनको तर्क छ। नेपालमा आयोजना गरिएको एसिया प्यासिफिक सममेलनको कुनै महत्व नभएजस्तो प्रधानमन्त्रीको दुई मुलुकमा हुन लागेको भ्रमणको पनि कुनै महत्व नरहेको उनी बताउँछन्।

पूर्वपरराष्ट्रमन्त्री एवं कूटनीतिक मामिलाका जानकार रमेशनाथ पाण्डे पनि बजेट अधिवेशन सुरु भएकै बेला प्रधानमन्त्रीको विदेश भ्रमणमा जाने प्रचलन संसदीय व्यवस्थाको अनुकूल नहुने बताउँछन्। आगामी वर्ष अपनाउने नीति तथा कार्यक्रममा आफ्ना सांसदलाई मत व्यक्त गर्नसमेत रोक लगाएर प्रधानमन्त्रीले विदेश भ्रमण गर्नु राजनीतिकरूपमा गलत हुने पाण्डेको तर्क छ। ‘प्रधानमन्त्रीले कम्बोडिया र भियतनामप्रति देखाएको यो असाधारण मोहको राजनीतिक, आर्थिक अथवा सामरिक आचित्य छैन,’ उनले भने। अन्तर्राष्ट्रिय सम्बन्धको धेरै पुरानो इतिहास भएको नेपालका प्रधानमन्त्रीले विदेश भ्रमणको मोह यसरी व्यक्त गर्नु अपसोचको कुरा भएको पाण्डेको तर्क छ।

प्रधानमन्त्री ओलीले भ्रमण गर्न लागेको कम्बोडियाको छवि अन्तर्राष्ट्रियरूपमा पनि खासै राम्रो छैन। लामो समयदेखि एउटै तानाशाहले शासन गरिरहेको कम्बोडिया मानवअधिकार उल्लंघनका घटनाका कारण पनि अन्तर्राष्ट्रिय समुदायमाझ आलोचित बन्ने गरेको छ। नेपालका प्रधानमन्त्रीको कम्बोडिया भ्रमणले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश नजाने कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। अन्तर्राष्ट्रिय क्षेत्रका जानकारहरू प्रधानमन्त्रीले कुन मुलुकमा जाँदा त्यसबाट मुलुकको हित हुन्छ या हुँदैन भन्ने कुरामा सचेत हुनुपर्ने बताउँछन्। ‘हाम्रो प्रधानमन्त्रीलाई विदेशी मुलुकले निकै कम मात्र निमन्त्रणा गर्छन्, त्यसैले प्रधानमन्त्रीले निमन्त्रणा पाउनबित्तिकै दायाँबायाँ नसोची भ्रमण तय गर्नुभयो,’ एक कूटनीतिज्ञले भने। यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो नहुने उनको तर्क छ।

सरकारले भने प्रधानमन्त्री ओलीको भ्रमणको निकै ठूलो महत्व भएको दाबी गरेको छ। प्रधानमन्त्रीको विदेश भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमणले ती मुलुकले द्वन्द्वपछि गरेको विकास र समृद्धिबारे सिक्न सहयोग पुग्ने बताएका थिए।

मन्त्री ज्ञवालीकै भनाइलाई समर्थन गर्दै मन्त्रायलयका एक उच्च अधिकारीले समृद्ध नेपाल सुखी नेपालको अभियानलाई अघि बढाउन पनि भ्रमणले सहयोग पुग्ने दाबी गरे। ‘उनीहरूको प्रगतिबाट नेपालले पनि पाठ सिक्न सक्छ, यससँगै सम्बन्धको विविधीकरण पनि हुन्छ,’ ती अधिकारीले भने। नेपालका सरकार प्रमुख र राष्ट्रप्रमुखबाट ती मुलुकमा हालसम्म भ्रमण नभएकाले भ्रमण फाइदाजनक हुने उनको तर्क छ। सधैं दुई छिमेकी मुलुक र पश्चिमा मुलुकमा मात्र भ्रमण गरिरहेको सन्दर्भमा यो भ्रमणले नयाँ आयाम थप्ने उनको दाबी छ। कूटनीतिक क्षेत्रका जानकार भने त्यहाँको समृद्धि र विकासबारे सिक्नका लागि सम्बन्धित क्षेत्रका विज्ञ जानुपर्ने बताउँछन्। ‘समृद्धिको सिको गर्न विज्ञहरूलाई पठाउनुपर्छ, प्रधानमन्त्रीको भ्रमण आवश्यक हुन्दैन,’ एक कूटनीतिज्ञले भने।

प्रकाशित: २४ वैशाख २०७६ ००:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App