जनकपुर - दोस्रो जनआन्दोलनको अवतरणसँगै सुरु भएको मधेस विद्रोहबाट मधेसी जनअधिकार फोरम, नेपालको जन्म भयो। मधेस आन्दोलनको प्रभावले प्रथम संविधानसभा निर्वाचनमा फोरमको राम्रो स्थान आयो। त्यसपछि एमालेबाट विद्रोह गरेर गठन भएको संघीय समाजवादी पार्टीसँग एकीकरण भई संघीय समाजवादी फोरम बन्यो। मुलुकमा नयाँ संविधान जारी भएको करिब साढे तीन वर्षपछि नयाँ शक्ति पार्टीसंग एकीकरण भई समाजवादी पार्टी नेपाल गठन हुन पुगेको छ।
पछिल्लो एकतासँगै एक दशकयता तीन फरक स्थानमा आफ्नो राजनीतिक पहिचान बनाउन सफल बाबुराम भट्टराई (बाहुन), उपेन्द्र यादव (मधेसी) र अशोक राई (आदिवासी जनजाति) एउटै दलभित्र एकताबद्ध भइरहँदा नेपाली राजनीतिक बृत्तमा स्वभाविक चर्चाको विषय बनेको छ। मधेसवादको सिद्धान्तमा आधारित मधेसी जनअधिकार फोरमको दायरा विस्तार हुँदै समाजवादी पार्टीसम्म आइपुग्दा नेकपा र नेपाली कांग्रेसपछि मुलुकको तेस्रो राजनीतिक शक्तिका रूपमा स्थापित हुन पुगेको छ।
फोरम पहिचानवादी राजनीतिक दल हो। हिजो अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँगको एकता स्वभाविक थियो। राजपासँग सहजै एकता हुनुपर्ने हो। तर, बाबुरामजीसँग कसरी एकता हुन गयो, त्यो शंकास्पद छ।
यो एकतापछि तत्कालीन फोरमप्रति आस्था राख्ने मधेसी समुदाय र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीप्रति विश्वास राख्ने पहाडका आदिवासी जनजाति समुदायले अगामी दिनमा समाजवादी पार्टीलाई कसरी मूल्यांकन गर्ने हो, त्यो भविष्यले बताउँनेछ। तर, पुरानो नेपाली कांग्रेस र कम्युनिस्ट एकतापछि बनेको नेकपालाई सन्तुलन गर्न समाजवादी पार्टीले भूमिका खेल्न सक्ने राजनीतिक विश्लेषकको ठम्याइ छ।
राजनीतिक विश्लेषक प्राध्यापक डा. भोगेन्द्र झाले फोरम र नयाँ शक्तिबीचको एकताभन्दा यसपछि दुई नेताको भूमिकाले पार्टीको भविष्य तय गर्ने बताउँछन्। ‘राजनीतिक सिद्धान्तका आधारमा फोरमले नयाँ शक्तिसँगभन्दा राजपासँग सहज वातावरणमा पार्टी एकीकरण गर्नुपर्ने हो,’ प्रथम संविधानसभाले गठन गरेको राज्य पुनर्संरचना आयोगका सदस्यसमेत रहेका डा. झा भन्छन्, ‘फोरम पहिचानवादी राजनीतिक दल हो। हिजो अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँगको एकता स्वभाविक थियो। राजपासँग सहजै एकता हुनुपर्ने हो। तर, बाबुरामजीसँग कसरी एकता हुन गयो, त्यो शंकास्पद छ।’
मधेस सत्ता प्राप्तिको सिढीका रूपमा प्रयोग भइरहेको उल्लेख गर्दै प्राध्यापक डा. झा भन्छन्, ‘उपेन्द्र यादव मधेसका नेता हुन् कि नेपालका ? त्यो आफंैमा स्पष्ट छैन। फोरम र राजपाका नेताहरूले अहिले पनि जय मधेस भनेर सम्बोधन गर्छन्। तर, सत्ताको दौडमा दुवै पार्टीले आफ्नो नामबाट मधेस शब्द हटाइदिए। यो सोचनीय कुरो हो।’
मधेसी नेताहरू अहिले पनि सत्ताकै परिक्रमा गरिरहेको उनको विश्लेषण छ। ‘मधेसमै आएर नेकपाले प्रदेश २ को सरकार विघटन गरिदिने चेतावनी दिन्छन्। र, सोही पार्टीको नेतृत्वमा रहेको संघीय सरकारमा उपेन्द्र यादव आफैं मन्त्री छन्। पहिचानवादी दलहरू फोरम र राजपाबीच फुट ल्याउन उद्धत रहेको नेकपासँग टाँसिनुले फोरमको ढुलमुले राजनीतिक चरित्र प्रष्ट हुन्छ,’ उनले भने। नेपाली कांग्रेस र नेकपा संघीयता र पहिचानविरोधी पार्टी रहेको चर्चा गर्दै उनले उपेन्द्रसँग बाबुरामले इमान्दार एकता गर्ने सोच बनाएको भए देश र नागरिकको हितमा हुने दाबी गरे।
संविधान जारी गर्ने बेलामा केही समय पर्खेर भए पनि सर्वस्वीकार्य संविधान ल्याउन बाबुरामले प्रयास गरेको तर केही नलागेपछि संविधानलाई आधा गिलास पानी भरेको र आधा खाली रहेको विश्लेषण गर्दै उत्सव मनाउन नहुने धारणा व्यक्त गरेको प्रसंग झाले सुनाए। पार्टी एकीकरणलगत्तै तत्काल सत्ता त्याग गरी संविधान संशोधनका लागि प्रभावकारी पहलमा लागे अगामी चुनावमा पार्टीले लाभ पाउने तर्क गर्दै उनले सत्ताको परिक्रमाबाहिर आउन नसके जनताले सोही अनुरुप निर्वाचनको बेलामा मूल्यांकन गर्ने बताए।
‘राष्ट्रवाद भन्ने शब्दको प्रयोगबाट मधेशी मात्रै होइन पहाडका जनता पनि आजित भएका छन्। यस्तो घडीमा संघीय समाजवादी फोरम र नयाँ शक्तिबीचको एकीकरणले महत्वपूर्ण सन्देश दिन सक्छ’ मधेश राजनीतिका जानकार प्राध्यापक डा. सुरेन्द्र लाभ भन्छन्, ‘दुवै पक्षले समाजवादको सन्दर्भमा बाहिर देखाएको सिद्धान्तमा अन्तरमनले काम गरे कांग्रेस र नेकपाको वैकल्पिक शक्तिको रुपमा स्थापित हुने निश्चित छ।’
फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरणलाई दुई दृष्टिकोणले हेर्न सकिने डा. लाभ बताउँछन्। भित्रभित्रै सुनिइरहेको चर्चाअनुसार अहिलेको एकीकरण लगत्तै मधेसको राजपा र पहाडका अन्य साना दलसँग पनि एकता भए निश्चय नै यो तेस्रो शक्तिका रूपमा राजनीतिक सतहमा आउँनेछ। ‘फोरमभित्र पहिले नै दुईवटा पार्टी थियो, उपेन्द्र यादवको र अशोक राईको,’ उनी भन्छन्, ‘अब बाबुरामजी पनि आइसकेपछि मधेसका नेताले पहाडको समस्याबारे बोल्ने, मधेसीले जनजातिको र खस आर्यले मधेसीका समस्याबारे बोल्न थाल्नेछ, जुन नेपाली राजनीतिको सुन्दर पक्ष हो।’
यद्यपि, नयाँ एकता घोषणा प्रक्रियामा रहेको फोरम र नयाँ शक्तिबीचको सैद्धान्तिक सहमति प्रष्ट हुन सकेको छैन। सिद्धान्तबिनाको एकीकरण टिकाउ हुन नसक्ने उल्लेख गर्दै डा. लाभ भन्छन्, ‘फोरमभित्र संविधानप्रति असन्तुष्टि जाहेर गर्ने समूह बलियो छ। बाबुरामजी संविधान जारी गर्ने बेलामा प्रभावकारी भूमिकामा हुनुहुन्थ्यो। उहाँले तत्कालीन अवस्थामा सुधार नभए संविधान जारी गर्न नसकिने विचार राखेको भए हुन्थ्यो, जो देखिएन।’ सोही आधारमा फोरमसँग एकीकरण स्वीकार नगरी पुरानै पार्टीलाई जीवन्त राख्ने समूह उपेन्द्रजीलाई छोड्न पनि सक्ने अनुमान डा. लाभको छ। फोरमभित्र पहिलेदेखि नै नेतृत्व पक्षसँग असन्तुष्ट समूहले अध्यक्षको निर्णय नमान्ने सम्भावना व्यक्त गर्दै उनले थपे, ‘त्यस्तो अवस्था आए यो एकताले नकारात्मक सन्देश पनि दिनसक्छ।’ अन्तरमनले जुट्न सके नेपाली राजनीतिमा नमूना धार स्थापित हुन सक्ने अनुमान उनको छ।
त्यस्तै, फोरम र नयाँ शक्तिबीच एकीकरणपश्चात उत्तर अथवा दक्षिण कुन सिद्धान्तमा अघि बढ्ने हो त्यो पनि महŒवपूर्ण पक्ष रहेको उनको विश्लेषण छ। वाम पृष्ठभूमिबाटै आएका उपेन्द्र यादव, अशोक राई र बाबुराम भट्टराई नेतृत्वको छुट्टाछुट्टै दल एउटै नेतृत्व अन्तर्गत समाहित हुनु नेपाली राजनीतिको लागि सुखद् पक्ष भए पनि राजनीतिक सिद्धान्त र विदेश नीति प्रष्ट नभएसम्म उत्साहित भइहाल्न नहुने उनको बुझाइ छ। डा. लाभको बुझाइमा बाबुराम दिग्गज नेता हुन्। उपेन्द्र यादवसँग जनाधार छ। दुवै मिलेपछि राजनीतिक दलको लागि सुखद् भविष्यको निर्माण हुने सम्भावना बढी रहेको उनले बताए। उनका अनुसार भट्टराईको फर्मुला ३३ प्रतिशत खस, आर्य, ३३ प्रतिशत मधेशी र ३३ प्रतिशत दलित, जनजातिको सहभागिता दलीय संरचनामा कार्यान्वयन भए अझ फलदायी हुनेछ।
मधेस राजनीतिमा करिब तीन दशक सक्रिय अनुभव संगालेका भरतविमल यादवले फोरम र नयाँ शक्तिबीचको एकीकरणलाई तत्कालै राम्रो÷नराम्रो भनिहाल्न नहुने बताउँछन्। ‘एकता भन्ने शब्द आफैंमा सकारात्मक हो। तर, यहाँ कुन नियतले पार्टी एकीकरण भइरहेको छ त्यो मुख्य पक्ष हो। यी दुई दलको एकीकरणवारे म अहिले कुनै कमेन्ट गर्न चाहन्न।’
प्रकाशित: २३ वैशाख २०७६ ०१:५० सोमबार