१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भुसाल भन्छन्, ‘दैनिक सय तस्करी र दलालसँग भेट हुन थाल्यो’

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेताहरुको दिनमा सय जना दलाल र तस्करीसँग भेट हुने गरेको बताएका छन्।

आइतबार कार्ल मार्क्सकाे २ सय ०१ औं जन्मस्मृतिमा बोल्दै भुसालले बिहान तस्करी, दिउँसो दलाल र साँझ आफ्नै पार्टीका नपढाउने प्रोफेसरसँग भेट हुने गरेको बताएका हुन्। उनले भने, ‘आँखा मात्रै झिम्काउनुस् त्यहाँ सबथोक हुन्छ।’

तस्करी, भूमाफिया र भन्सारका मान्छेहरुसँग नेताहरुको उठबस हुने गरेको उनले आराेप लगाएका छन्। भने ‘अलि ठूलो घर भए मात्र नेताहरुले आफूलाई खुब क्रान्तिकारी ठान्छन्।’

भुसालका अनुसार व्यापारी र तस्करी कसको भन्ने विषयमा पार्टीभित्रै सैद्धान्तिक बहस हुने गरेको छ।कानुनबाट बच्न न्यायाधीश आफ्नै राख्ने गरिएको उनकाे आराेप छ। ‘अदालत र अख्तियारलाई काँध थाप्न नेता, मिडिया र सुरक्षा निकायको गठबन्धनको साक्षी आफैं हुँ’, भुसालले भने।

पार्टीका नेताहरुले के–के गर्छन् त्यो जानकारी हुनुपर्ने बताउँदै सत्यतथ्य छानबिन गर्नुपर्ने उनले बताएका छन्। ‘नेताको जीवन कसरी चल्छ? कुन नेताले के गर्छन्? त्यो पार्टीभित्र बहस र छलफल चलाउन जरुरी छ’, भुसालले भने, ‘अनि मेलमिलाप पनि जरुरी छ।’

संगठनलाई भेडीगोठ र आफूलाई गोठालो ठानेको बताउँदै उनले भने, ‘अब त छाति पिटेर रुने अवस्था आइसक्यो। नेता र कार्यकर्ताले पार्टीभन्दा माथि आफू ठान्दा पार्टी नै ओरालो लाग्याे।'

सरकारप्रति व्यंग्य गर्दै उनले भने, ‘दलाल र पुँजीवादविरुद्ध हामी कहिल्यै बोल्दैनौं, तर सुखी नेपाल र समृद्ध नेपालीकाे नारा घन्काउँछौं।’ भ्रष्टाचार गर्दिन मात्रै भन्छौं तर भ्रष्टाचार हुने प्वाल टाल्न नसक्दा वासुकी नागको फोटो टाँसेर आफू चोखो हुन खोजे जस्तै हो।’

हिजो राजा र कांग्रेसले खाए आज कम्युनिस्टले भन्न थालिसकेका छन्। हुन त मलाई रेल र पानी जहाजविरोधी भन्छन् तर म होइन्। एउटा कुरा के बुझौं भने अफ्रिकाको डान्सबारमा नांगो नरोकिएसम्म समाजवाद आउँदैन।’

प्रकाशित: २२ वैशाख २०७६ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App