१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीमा स्टीमर चल्दा केहीलाई झड्का लागेको छः ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोशीमा स्टीमर चल्दा केही मानिसको मस्तिष्कमा झट्का लागेको बताएका छन्।

राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै प्रधानमन्त्री अाेलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढिसकेकाले पूर्वाधार विकासमा जाेड दिएकाे बताए। कोशीमा स्टीमर चल्दा केही मानिसको मस्तिष्कमा झट्का लागेको छ। हामीले पानी जहाज नै चलायौ भने के होला? उनले प्रश्न गरे। उनले देश विकास र समृद्धिकाे बाटाेमा अघि बढेकाे  जिकिर गर्दै अब खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्था नरहने बताएका छन्।

उनले पन्ध्राैँ योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर गरे। आयोगका अध्यक्ष ओलीले भने,'हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेका छौँ। त्यसैले अब कोही पनि भोका रहनेछैनन्। केही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस्। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ।' हाल निरपेक्ष गरीबीको प्रतिशत घटाउन सरकारले ठूला आकाङ्क्षा र महत्वाकाङ्क्षाका साथ उथलपुथलकारी काम गरिरहेकाले सबै निकाय र क्षेत्रले सोहीअनुसार गति बढाउनुपर्नेमा जोड दिँदै उनले थपे, 'हामी फरक ढङ्गले सामाजिक प्रबन्ध गरिरहेका छौँ। समाज स्वतन्त्र छ तर यहाँ मर्ने स्वतन्त्रता छैन। अब हामी दोहोरो अङ्कमा आर्थिक वृद्धिदर गराउनेछौँ।'

प्रधानमन्त्री ओलीले चुनढुङ्गा उत्खनन गरेर सिमेण्टमा आत्मनिर्भर भई भारत र बङ्गलादेशमा निर्यात गर्न सकिने तथा अन्य मुलुकका निर्यात गर्न सकिने धेरै सामग्री उत्पादनको आधार तयार गर्न सकिने बताउँदै भने, 'जमीनको हदबन्दीमा लचिलो भएर हरेक क्षेत्र र भूगोललाई उत्पादनमुखी र व्यावसयिक बनाउँदै नेपाललाई स्वाधीन र समृद्ध बनाइनेछ।' अघिल्लो आर्थिक वर्षको आर्थिक वृद्धिदर कमजोर भएकाले चालू आर्थिक वर्षको वृद्धिदर उल्लेख्य हुन नसकेको हो भन्दै उनले विगतमा एउटा ठेकदारलाई क्षमताभन्दा बढी काम दिइएको कार्यलाई कानूनी रुपमा तोड्न समय लागेको बताए।

प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा निकै सुधार आएको र जमीन बाँझो राख्ने परम्परा अन्त्य हुन थालेको जनाउँदै संरचना र कानूनी आधार तयार भए पनि नयाँ प्रणाली भएकाले सङ्घीयता कार्यान्वयनमा जाँदा गतिशील भएर अगाडि जान केही समस्या देखिएको स्वीकार गरे।

प्रकाशित: १५ वैशाख २०७६ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App